पीपीएल : धनगढीलाई हराउँदै बुटवल प्लेअफमा प्रवेश
पोखरा । आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ । धनगढीले दिएको १ सय ४१ रनको लक्ष लिएर मैदानमा उत्रेको बुटवलले १६ ओभर ५ बलमा लक्ष भेट्टाएको हो ।
धनगढीका लागि ओपनर खासै चल्न सकेनन् । ओपनरका रुपमा मैदान प्रवेश गरेका शुभेन्दु पाण्डे १ रनमै आउट हुन पुगे अर्का ओपनर ब्याटेसम्यान रोड्रिगो थोम्सोन ५ रनमै आउट हुन पुगे । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका कप्तान दिपेन्द्र सि.ह ऐरीले आक्रामक ब्याटिङ गरे । उनी ६ चौका र २ छक्काको मद्दतले ४५ बलमा ६१ रन बनाउँदै अविनाश बोहराको बलमा शंकर रानाको हातबाट क्याच आउट हुन पुगे ।
पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोरा ३२ बलमा ३९ रन बनाउँदै रन आउट हुन पुगे । त्यस्तै सौरभ खनाल ८ बलमा १० रन बनाउँदै ललित सिंह भण्डारीको बलमा भिम सार्कीको हातबाट क्याच आउट भए । भने अरु कसैले दोहोरो अंक बनाउन सकेनन् ।
बुटवलका लागि अविनाश बोहरा ३ ओभर ५ बलमा २६ रन दिँदै ४ विकेट लिए । त्यस्तै ललित सिंह भण्डारीले ४ ओभरमा १९ रन दिँदै ३ विकेट, सोमपाल कामी ४ ओभरमा २७ रन दिँदै १ विकेट लिए ।
धनगढीले दिएको लक्ष्य पच्छ्याउँदै ओपनरका रुपमा मैदानमा उत्रेका अफ्ताब उद्धिन अहमदले आक्रामक ब्याटिङ गरे । उनी २३ बलमा ७ छक्का र १ चौकाको मद्दतले ५२ रन बनाउँदै दीपक पुनियाको बलमा सुबेन्दु पाण्डेको हातबाट क्याच आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका हर्ष टोन्क २१ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४० रन बनाउँदै अनिल खरेलको बलमा दीपक पुनियाको हातबाट क्याच आउट हुन पुगे ।
अर्का ओपनर शंकर राना ३१ बलमा २५ रन बनाउँदै अनिल खरेलको बलमा विकेट किपर सुबेन्दु पाण्डेको हातबाट स्टम्पिङ हुन पुगे । त्यस्तै शिभम सिंह र भिम सार्कीले अविजित क्रमशः १५ र ७ रन बनाए ।
धनगढीका लागि अनिल खरेल ४ ओभरमा १३ रन दिँदै २ विकेट लिए । त्यस्तै दीपक पुनियाले ४ ओभरमा ३० रन दिँदै १ विकेट लिए ।
यो खेलसहित चार खेल खेलेको बुटवल १ हार र ३ जितसहित ६ अंक बनाएर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भने चार खेल खेलेको धनगढी १ जित र ३ हारसँगै अंक तालिकाको पुच्छारमा रहेको छ ।
Facebook Comment