नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा बस्ने

डिसी नेपाल
७ पुष २०७६ ६:१६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक यही पुस २३ गतेदेखि काठमाडौँमा गर्ने निर्णय भएको छ।

गत २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हुनेछ ।

पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको स्थायी कमिटी बैठकले एकीककरणका काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकेको हो।

केन्द्रीय कमिटीमा ४४५ जना सदस्य छन् । केन्द्रीय कमिटीको बैठक अगाडि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी साङ्गठानिक कामहरू (आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसङ्गठन) पूरा गरिसक्नेसमेत स्थायी कमिटीको बैठकले आइतबार निर्देशन दिएको छ।

राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित

नेकपाको स्थायी कमिटीको चौथो बैठक २०७६ मङ्सिर २९ गते शुरु भई आज सम्पन्न भएको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न बैठकले अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफल र विमर्शपछि प्राप्त विचार, सुझाव र धारणाको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन गर्ने गरी सर्वसम्मतिले परिमार्जनसहित पारित भएको छ।

बैठकले महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाका आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरेको छ।

विधान संशोधन प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ भने पार्टीमा उपाध्यक्ष पद सिर्जना गरी नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ ।

अमेरिकी सहयोग कर्पोरेसनलाई स्वीकार गर्ने, नगर्ने विषयमा स्थायी कमिटीमा छलफल भए पनि उक्त सहयोग हिन्द प्रशान्त रणनीतिमा आवद्ध नभएमा स्वीकार गर्न सकिने र यसबारे सचिवालयले निर्णय गर्न स्थायी कमिटीले कार्यादेश दिएको छ ।

सीमा विवादः भारतीय नक्शा अमान्य

हालै लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्शालाई बैठकले अस्वीकार र अमान्य घोषणा गरेको छ।

नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाउँदै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ।

नेपाल–भारत समस्याका सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकामा त्यस विपरीत प्रकाशित नक्शा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ।

यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

“यस सन्दर्भमा नेपाल सरकारले लिएको अडान, सबै राजनीतिक दल, सङ्घ–संस्था र सरोकारवालासँग गरेको सर्वपक्षीय तथा सर्वदलीय बैठकको आयोजना र त्यसमार्फत् सिङ्गो देशको एउटै दृष्टिकोण, धारणा तथा अडान बनाउन गरेको पहललाई बैठकले उचित कदमका रूपमा लिएको छ।

यसरी सिङ्गो राष्ट्रको साझा अडान बनाउन सहयोगी भूमिका खेल्ने सबै राजनीतिक दल र पक्षलाई बैठकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ”, विज्ञप्तिमा भनिएको छ।

बैठकले पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न स्थानमा सिमाना र दसगजा मिचिएको तथा नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमासमेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकाले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीलाई एकताबद्ध बनाउन अध्यक्ष दाहालको आग्रह

बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्न, साङ्गठनिक एकीकरणलाई पूर्णता प्रदान गर्न, विचारको बहस र विकासलाई व्यवस्थित गर्न, सरकार सञ्चालनलाई प्रभावकारी बनाउन तथा हरहिसाबले पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुगेको धारणा राखे ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अस्वस्थताका कारण अनुपस्थित भएर पनि बैठक सफल पार्न राजनीतिक प्रतिवेदनको तयारीलगायत महत्वपूर्ण निर्णय प्रक्रिया एवं बैठक सञ्चालन र निष्कर्षमा पुग्न गरेको योगदानका निम्ति विशेष धन्यवाद ज्ञापन गरे।

बैठकले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै पूर्ण स्वस्थ भएर पूर्ववत् नियमित काममा फर्किने विश्वास व्यक्त गरेको छ ।

सवारी दुर्घटनाको दीगो समाधान खोज्न आग्रह

मुलुकका विभिन्न भू–भागमा विगत केही समययता भएका पटक–पटकका सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति भएकाप्रति अत्यन्त दुःखित र चिन्तित भएको उल्लेख गर्दै वर्षेनी हुने ठूलो जनधनको क्षति न्यून गर्न र यस समस्याको दिगो समाधानका लागि आवश्यक कार्य अगाडि बढाउन, सडक पूर्वाधारमा प्रभावकारी सुधार गर्न, सवारी चालक र सवारी धनीलगायत सम्बन्धितलाई जिम्मेवार बनाउन, पुराना सवारी साधनको नियमन गर्न तथा सडक सुरक्षा र अनुशासनको कडाइका साथ पालना गर्ने विषयमा ठोस् कदम चाल्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ।

सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण, शोकाकुल परिवारप्रति समवेदना एवं राहत प्रदान गर्न र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले घाइतेको उपचारको प्रबन्ध गर्न र दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा जीवनयापनको व्यवस्था गर्न पनि माग गरेको छ।

यसैगरी, तराईका विभिन्न जिल्लामा शुरु भएको शीतलहरले विपन्न वर्गका नागरिकलाई ठूलो समस्या एवं मर्कामा पारेको कुरालाई ध्यानमा राखेर विपन्नलाई न्यानो लुगा र दाउरा वितरण गर्न, घरबारबिहीनलाई जनता आवास कार्यक्रम अन्तर्गत आवास उपलब्ध गराउन तथा समस्याको दीर्घकालीन समाधान खोज्न बैठकले माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *