मैले आज किन दौरा सुरुवाल लगाइन? : प्रधानमन्त्री
काठमाडौं। प्राय सधैं दौरा सुरुवाल र कोटमा देखिने प्रधानमन्त्री केपी ओली हिजो (आइतबार) साँझ घरेलु लुगामा (ओभर कोट लगाएर) सार्वजनिक कार्यक्रममा देखा परे। यसो हुनुको कारण त्यो कार्यक्रममा प्रधानमन्त्रीले नै बताए।
‘मैले दौरा सुरुवाल लगाएर आउन सकिन। त्यही भएर ओभर कोट लगाएर आएँ,’ उनले भने, ‘म आराम गरिरहेको छु।’ राष्ट्रिय सूचना आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाउने क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमको प्रसंग हो यो।
आयोगका तर्फबाट प्रधानमन्त्रीसँग फोटो खिच्ने प्रस्ताव राखिएपछि उनले आफ्नो पोशाकको प्रसंग सुनाएका थिए। नियमित रुपमा मृगौलाको डायलासिस गराएका ओली पार्टीको स्थायी कमिटी बैठकमासमेत भाग नलिइकन निवासमा आराम गरिरहेका छन्।
सुरुमा आयोगलाई चार बजेको समय दिइएको भए पनि पछि समय सार्दै ६ बजे पुर्याइएको थियो। आयोगको प्रतिवेदन बुझ्ने कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजीनीतिक सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासहितका सहभागी थिए।
कार्यक्रममा प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले प्रतिवेदन प्रधानमनत्रीलाई हस्तान्तरण गरिसकेपछि प्रधानमन्त्री ओलीले ‘तपाईँको काम गराइ र स्पिरिटसँग सन्तुष्ट छु’ भनेका थिए।
‘प्रधानमन्त्रीज्यूलाई हामीले आयोगले गरेका कामको बारेमा अगवत गरायौं। हाम्रो काम गर्ने स्पिरिटप्रति प्रधानमन्त्री खुखी देखिनु भयो,’ प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले डिसी नेपालसँग भने, ‘सूचनाको हकको रक्षाका लागि सरकार गम्भीर रहेको प्रधानमन्त्रीज्यूले बताउनु भयो।’ कार्यक्रमको अन्तिममा आयोगका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरेका थिए।
Facebook Comment