सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

डिसी नेपाल
७ पुष २०७६ १४:४३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गरेका हुन्।

उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे। ‘प्रधानमन्त्रीले के गरिरहनु भएको छ? परराष्ट्र मन्त्रालयले के गरिरहेको छ? सरकारका अन्य निकायहरुले के गर्दैछन्, यो समस्या कसरी समाधान हुन्छ?,’ उनले भने, ‘हामी कसैको हामीले के इन्च जग्गा मिच्नु छैन। र, नेपालको एक इन्च जग्गा दिनु छैन भन्ने कुरामा स्पष्ट छौं। यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौं?’

नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दै सीमा माथि धावा बोल्ने काम हुँदा समेत सरकार मौन बसेकोमा आक्रोश पोखे। उनले वर्तमान सरकारले भ्रष्टाचारमा कीर्तिमान कायम गरेको दाबी गरे।

सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसँग माग गरे। सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई पनि सम्बोधन गर्नुपर्ने तर्क उनले गरे।

उनले भने, ‘ गोकर्ण रिसोर्ट र नारायणहिटी संग्राहलय अगाडि दरबारमार्गमा रहेको जग्गाको भोगाधिकार सम्बन्धी विषय आलोचनाको रुपमा बाहिर आएको छ। आलोचना र विवाद बाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ। तसर्थ यी विषयमा सदनलाई जानकारी गराइयोस्।’

विगतमा पनि राजनीतिक मुद्दाको रुपमा लिपुलेक र लिम्पियाधुराको विषय धेरै उठ्ने गरेको भन्दै उनले सीमाको विषयमा स्पष्ट अडान लिएको भन्दै सरकारको बचाउ गरे। अपराध मुक्तको बाटोमा मुलुक अघि बढेको दाबी गर्दै उनले पैसाले कानून र न्यायलाई किनेर उम्कने अवस्था नरहेकाले उच्च ओहदामा बस्नेहरुले पनि नैतिक मुल्यमा आधारित भएर राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिए।

समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताए। सर्वहाराका नेता भन्न रुचाउनेहरुमा मात्रै परिर्वतन आएको भन्दै उनले विभेदरहित समाज भाषण मा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौती दिए।

उनले भने, ‘आफूलाई सर्वहाराका नेता भन्नेहरु आज धनाड्य बन्न पुगेका छन्। त्यो मात्रै परिर्वतन भएको छ। नेपाली जनता जनताहरुको घरमा आजेग्य बस्तु किन्न नसकेर जनताहरु त्राहिमाम छन् । गरिबी त्यत्तिकै छ। महँगीको शिकार जनताहरु त्यत्तिकै छन्।’

विभेद र भ्रष्टाचारको अन्त्य भएर युवाहरुले स्वदेशमै रोजगारी नपाएसम्म मुलुक सम्मृद्ध हुन नसक्ने भन्दै वर्तमान सरकारको समयमा एनसेल, गोकर्ण रिसोर्ट लगायत ठूला ठूला भ्रष्टाचारको काण्डै काण्ड भएको दाबी गरे। उनले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएकोमा पनि आपत्ति जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *