सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय

डिसी नेपाल
८ पुष २०७६ १३:३३

काठमाडौं। समाजवादी पार्टीले सरबाट बाहिरिने निर्णय गरेको छ। संविधान संशोधन गर्ने पूर्व सहमति कार्यान्वयनमा सरकार उदासिन भएको ठहर गर्दै समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो। मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्रीसमेत रहेको समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपर्ने प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।

समाजवादी पार्टीका एक पदाधिकारीका अनुसार बुधबार बस्ने सरकारबाट बाहिरने औपचारिक जानकारी प्रधानमन्त्रीलाई गराइनेछ। वर्तमान सरकारमा समाजवादी पार्टीका दुई मन्त्री सरकारमा छन्। उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री इस्तियाक राई सरकारमा सहभागी छन्।

पछिल्लो सयम सत्तारुढ दल नेकपा र समाजवादी पार्टीबीचको सम्बन्ध हार्दिकतापूर्ण थिएन। समाजवादी पार्टीका नेताको अभिव्यक्तिबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। त्यही कारण सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका थिए।

सोमबारको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री यादवले संविधान संशोधनका लागि कार्यदल बनाउने खाकासहितको प्रस्ताव पेश गर्ने तयारी गरेका थिए, सो विषयमा उनले प्रधानमन्त्रीलाई जानकारी पनि गराएका थिए। तर प्रधानमन्त्रीले उक्त प्रस्ताव पेश गर्न दिएनन्।

मन्त्रिपरिषद स्रोतका अनुसार यादवले बन्द खामभित्र एउटा प्रस्ताव लिएर गएका थिए, यादवले त्यसको जानकारी प्रधानमन्त्रीलाई गराउन साथ प्रधानमन्त्रीले उक्त प्रस्ताव पेश गर्ने अनुमति दिएनन्।

प्रतिपक्षी दलको जस्तै संविधानदेखि सरकारसम्मको विरोध गर्न थालेपछि प्रधानमन्त्री ओलीले समेत समाजवादीलाई वास्ता गर्न छोडेका थिए। समाजवादी पार्टीसँग सल्लाह नगर्ने मात्रै होइन, सरकार बाहिर रहेको राजपासँग नेकपा नजिकिन थालेपछि समाजवादी पार्टी निरिह बनेको थियाे। केन्द्र सरकारबाट बाहिरिए दुई नम्बर प्रदेशको सरकार पनि आफ्नो हातबाट फुत्किनेमा समाजवादी पार्टी चिन्तित छ।

‘फुटाउ र राज गर को नीति अनुसार अहिले समाजवादी पार्टीलाई माइनस गर्दै राजपासँग नेकपा नजिएिको छ,’ समाजवादी पार्टीका एक जना नेताले भने, ‘सुरुमा समाजवादी र राजपा दुवैले सरकारलाई समर्थन गरेका थिए। त्यो बेला समाजवादीलाई मात्र सरकारमा सहभागी गराइयो। अहिले फेरि राजपासँग मिलेर समाजवादीलाई एक्ल्याउने प्रयास गरिएको छ।’

दुई नम्बर प्रदेशमा समाजवादी पार्टीको नेतृत्वमा राजपा सम्मिलित सरकार छ। दुई नम्बर प्रदेशमा नेकपा सबैभन्दा ठूलो दल हो। अहिले नेकपा र राजपाबीच दुई नम्बर प्रदेश सरकारको सरकारको नेतृत्व गर्ने रणनीति बनाएको भन्दै समाजवादी सशंकित बन्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *