बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने सांसदहरुको माग

डिसी नेपाल
८ पुष २०७६ १९:५२

काठमाडौं । सांसदहरुले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरुले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाही नगरी सरुवा गर्ने प्रचलन हटाइनुपर्ने बताएका हुन् । सांसद रेखा शर्माले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताइन् । सांसद पम्फा भुसालले विधेयकमा सरकारले स्पष्टिकरण लिन सक्ने, बढ्ुवा रोक्ने र निलम्बन सम्म गर्न सक्ने व्यवस्था राख्नुपर्ने बताइन् ।

सांसदहरुले परराष्ट्र सेवामा रहेका कर्मचारीहरु राजदूत बनेर जाँदा ठाउँ खालि हुने तर अर्को कर्मचारी दरबन्दी गर्न नमिल्ने समस्या रहेकाले विधेयकमा त्यस सम्बन्धी उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । सांसद जनार्दन शर्माले परराष्ट्र सेवाका सहसचिवहरु राजदूत बनेर जाँदा मन्त्रालयमा दरबन्दी सिर्जना हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तै सांसदहरुले तल्लो तहमा रहेका कर्मचारीहरुलाई करारमा लिने व्यवस्था हटाइनुपर्ने बताएका छन् । उनीहरुले ठुलो पदमा रहनेले राज्यको सबै सेवा सुविधा पाउने तर तल्लो तहमा काम गर्ने कर्मचारीले कुनैपनि सेवा सुविधा नपाउने खालको विभेदकारी व्यवस्था गर्न नहुने बताएका हुन् । सांसदहरुले लोकसेवामार्फत नै कर्मचारी लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले तल्लो तह मुख्य काम नहुने र पुरै समय कार्यालयमा बस्नुपर्ने आवश्यकता नभएकाले करारमा कर्मचारी राख्ने व्यवस्था गरिएको बताए । उनले मुख्य काम (कोर फङ्सन) र अन्य काम छुट्याउन सकिने बताए ।

समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ९ अन्तर्गतका १० वटा उपदफाहरुमाथि छलफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *