धरहरा पुनर्निर्माण सन्तोषजनक, ३२ प्रतिशत काम सकियो
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक धरहरा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताएका छन् ।
मंगलबार धरहराको पुनर्निर्माणबारे स्थलगत अवलोकनको क्रममा प्रमुख ज्ञवालीले अहिलेकै अनुरूप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिए ।
सो अवसरमा प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले हालसम्ममा ३२ प्रतिशत काम सम्पन्न भएको र त्यसका लागि रु ७५ करोड खर्च भएको जानकारी गराए ।
भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनले धरहराको पुनर्निर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।
विसं २०७२ १२ वैशाखमा भूकम्पले क्षतिग्रस्त भएको सो ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गतवर्ष १२ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताएका थिए । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणमा खटिएका छन् ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछन् । एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ ।
४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, संग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।
११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालय लगायत सुविधा हुनेछन् ।
गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।
निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौंलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनर्निर्माण अत्यावश्यक भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
धरहराको १८औँ तलामा अवलोकन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । यहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।
Facebook Comment