पर्यटन वर्ष सफल पार्न युवा क्रियाशील हुनुपर्ने : अध्यक्ष प्रचण्ड

डिसी नेपाल
९ पुष २०७६ २१:३३

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताएका छन् । चितवनको रत्ननगरमा बुधबारदेखि शुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गरे। उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

अध्यक्ष प्रचण्डले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गरे। समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवालाई भएकाले देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय रहेको उनको भनाइ छ । उनले भने, ‘‘हामी अस्ताउँदा सूर्य हौँ, तपाई युवा उदाउँदो सूर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसिजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।”

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि शुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरणमा पु¥याएको छ । बुधबारबाट शुरु भएको जेसिजको ४६औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशनमा नेपालभरका दुई हजार ५ सय भन्दा बढीको उपस्थिति रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *