ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजलाई हराउँदै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

डिसी नेपाल
१० पुष २०७६ १५:२५

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार तीन खेलमा जित निकाल्दै मनाङ फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शून्यले हरायो । मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औंँ मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए ।

पहिलो हाफमा एक शून्यको अग्रता बनाएकाे मनाङले दोस्रो हाफमा पनि ब्रिगेड ब्वाइजलाई दबाब दियाे तर गोल थप्न सकेन । ५२ औंँ मिनेटमा मनाङले अन्तर दुई शून्यमा पुर्‍याउने मौका पाए पनि सफल हुन सकेन ।

७४ औंँ मिनेटमा मनाङ १० खेलाडीमा झर्न पुग्यो । उसका एकराज बुढाथोकीले ब्रिगेड ब्वाइजका खेलाडीलाई डरलाग्दो फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइज खेलमा फर्कन सकेन र पराजित भयो ।

जारी लिगमा ब्रिगेड ब्वाइजको यो दोस्रो हार हो । उसको तीन खेलमा तीन अंक रहेको छ । मनाङको तीन खेलमा नौ अंक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *