विराटनगर पीपीएलको फाईनलमा, उपाधिका लागि चितवनसँग भिड्ने
कास्की । विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहिबार भएको इलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो । अब विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ ।
विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन मात्र बनाउन सक्यो । बुटवलका भीम सार्कीले ४४ तथा अफ्ताबूदिन अहमेदले ४३ रन बनाए । यस्तै पुरन बिकेले १५ तथा शिवम सिंहले १४ रन जोडे ।
विराटनगरका शाहब आलम र पुनित मेहेराले समान ३–३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । विराटनगरका सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले । ५४ बलको सामना गरेका उनले २ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाए।
यस्तै कप्तान प्रदिप ऐरीले अविजित ३३ रन बनाउँदा जैद आलमले २०, लोकेश बम र पुनित महराले समान १९ रन जोडे । बुटवलका हर्ष टंकले २ विकेट लिए । यस्तै ललित भण्डारी र अविनास बोहराले समान १र१ विकेट लिए । खेलको म्यान अफ द म्याच शाहब आलम भए।
लिगमा बुटवल दोस्रो स्थानमा रहदै इलिमिनेटरमा पुगेको थियो । विराटनगर भने तेस्रो स्थानमा रहेर बुटवलसँगको भेट पक्का गरेको थियो । लिगको अन्तिम खेलमा विराटनगरले बुटवललाई ४ विकेटले पराजित गर्दै इलिमिनेटरमा स्थान बनाएको थियो । फाईनल खेल शनिबार हुनेछ।
Facebook Comment