‘आमा, रातो सारी चुरा पोते किन नलाको’ले व्यवसायिक गीतकार बनायो
राजकुमार बगर, गीतकार
काठमाडौं। सानैदेखि गीतसंगीतमा रुचि थियो। एसएलसीपश्चात पोखरा बसेर आइएड, बिएड पढे। त्यहाँबाट मेरो संगीतप्रतिको झुकाव अझ बढ्दै गयो। पोखरा हुँदा गीत लेख्ने, संगीत सिक्ने तथा सांगीतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर पाए।
२०५५ सालमा रेडियो नेपालको वार्षिकोत्सवमा मैले लेखेको गीत ‘उडेर जुन छुन्छु भन्थेँ’ प्रथम भयो। मेरो शब्द, बिबी अनुरागीको संगीतमा रामभक्त जोजिजूले गीत गाउनुभएको थियो। त्यसको अर्को वर्ष २०५६ सालमा यो गीत रेकर्ड भएर बजारमा आएको थियो। गीतलाई स्रोताले रुचाउनुभयो।
तर त्यो बेला संगीतमा लाग्नका लागि त्यति सहज थिएन्। गीत चलेपनि गीतकार भएर चल्न गाह्रो छ भन्ने लागेर मैले बिएड सकेपछि गाउँमै शिक्षण पेशामा लागेका थिए। तर, म शिक्षण पेशामा धेरै टिक्न सकेन्। म स्कूलमा पढाउँदै भएपनि मेरो मन सधै संगीतमै रह्यो। कहिलै काठमाडौं आएर गीतसंगीतको क्षेत्रमा लाग्ने भन्ने नै रह्यो। त्यसैले म २०५८ सालमा शिक्षकको जागिर छाडेर तनहूँबाट काठमाडौं आए।
म काठमाडौं आउनुको श्रेय अग्रज गायक नारायण रायमाझी दाईलाई दिन चाहान्छु। काठमाडौं कसरी जाने, कहाँ बस्ने? गएर के गर्ने? कुनै माध्यम बनेको थिएन। तर, दाईले काठमाडौं बोलाएर उहाँकै रिमा रेकर्डिङ स्टुडियोमा जागिर दिनुभयो।
त्यहाँ साउण्ड रेकर्डिष्टको काम गर्न थाले। त्यसको एक वर्षपछि मैले लेखेको गीत ‘भन्नु नभाको आमा रातो साडी चुरा पोते किन नलाको’बोलको गीत रेकर्ड भयो। बजारमा आयो। गीतलाई स्रोताले रुचाउनुभयो। त्यो गीतको चर्चासँगै लोकगीतमा मेरो व्यवसायिक लेखन शुरू गरेँ। २०६२ सालमा आफैंले त्रिवेणी रेकर्डिङ स्टुडियो खोले। त्यसपछि लोकगीतको व्यवासायिक बजार पनि राम्रो रह्यो।
मेरो गीतलाई पनि स्रोता/दर्शकले रुचाउँदै जानुभयो। २०६७/६८ सालसम्म आउँदा ४ सय जति गीत लेखे। यता कुलो काट्दाखेरी, मिर्मिरेको घाम, मनको देउतैले, माफ गर भूल भए, मर्स्याङ्दीमा फूल बगाम् भो लगायतका गीतले मलाई चिनाउन मात्र नभई जिविकोपार्जन गर्न सक्षम बनायो। मलाई यसरी व्यवसायिक गीत लेखनमा लाग्न प्रेरित गरेको ‘आमा, रातो सारी चुरा पोते किन नलाको’ले हो।
अहिले त संगीत क्षेत्रमा लागेको पनि झण्डै दुई दशक भएको छ। यो यात्रामा एक हजार बढी गीत बजारमा आए। यति लामो समयसम्म टिकिराख्नु भनेको रूचि, साधना र धैर्यता नै हो। गीतसंगीतमा लाएर धेरै कमाईन होला, तर आफूले यसबाट पैसाभन्दा धेरै सन्तुष्टि पाएको छु।
-सुशिल नेपालसँगको कुराकानीमा आधारित
Facebook Comment