सरकारले ऐन नियमको अक्षरस पालना गराउन सकेन : वरिष्ठ नेता नेपाल

डिसी नेपाल
११ पुष २०७६ १६:०८

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफैले बनाएको ऐन नियमको अक्षरस पालना गराउने स सन्दर्भमा सरकार दृढताका साथ अघि बढ्न नसकेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित पारिवारिक निजी बन संघ नेपालको दोश्रो संघीय महाधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने ,हड्प्ने प्रवृत्तिको अन्त्य गर्ने सवालमा सरकार दृढताका साथ अघि बढ्न नसकेको बताए । उनले बद्मासी र कानुन उलंघन गर्ने विरुद्ध राज्य दृष्ढताका साथ अघि बढेमा जनताको पनि साथ पाउने भन्दै उनले सार्वजनिक जग्गा, बन लगायतको अतिक्रमण अन्त्य गरिनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, “विभिन्न ठाउँमा गुठीको नाममा होस्, बालुवाटारको नाममा होस्, नेपाल ट्रष्टको नाममा होस्, जुनसुकै ठाउँमा पनि राज्यलाई नोक्सान पुग्ने र बद्मासी कसैले गरेको छ भने त्यसलाई दण्डित गर्नका लागि राज्य दृढताका साथ अघि बढ्नुपर्छ । राज्य दृढताका साथ अघि बढे जनताको साथ पाउनेछ ।”

शक्तिशाली सरकार भएकाले बनमाफियाहरुसंग मिलेमतो गर्नेलाई सँजाय दिलाउन अनुकुल वातावरण रहेको भन्दै नेता नेपालले दिर्घकालिन सोच सहित अघि बढ्न सरकारलाई सुझाव समेत दिएका छन्।

राजनीतिक अस्थिरताका कारण कर्मचारीहरुले पनि सरकारका निर्देशनहरुलाई नमान्ने प्रवृत्ति विगतमा रहेको उनले उल्लेख गरे । कर्मचारीहरुको अटेरी प्रवृत्तिलाई आफु प्रधानमन्त्री भएको समयमा नजिकबाट अनुभव गरेको पनि पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले स्मरण गरे । उनले भने, “कर्मचारी कति अटेरी हुन्छन् भन्ने कुराको त म आफै एउटा उदाहरण हुँ । म प्रधानमन्त्री हुँदाखेरी सर्लाही जिल्ला र इलाम जिल्लको बन सखाप पारेछ एउटा डिएफओले त्यो डिएफ ओलाई कारवाही गर्न भनेर आदेश दिएँ । जम्मै मिलेका हुदा रहेछन् डिएफओ देखि लिएर को को संग सबै । मलाई रिपोर्ट पेस गरेर हजुर कारवाही गरियो । सस्पेन्ड गरियो । म पनि दंगदास परे सस्पेन्ड पो भएछ भनेर । भरे ३ महिना पछि त फेरी उसलाई त्यही ठाँउमा पठाउनुपर्दो रहेछ । ३ महिना पछि त्यहा गईसकेपछि के भन्छ रे ‘यो प्रधानमन्त्री कति दिनको हो ? अहिले काट्या छु १० हजार अब १ लाख रुख काटेर देखाईदिन्छु ।’ यो जाने प्रधानमन्त्रीले गर्ने कतिदिन सम्म ?”

कार्यक्रममा बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले विकास र वातावरणबीचको अन्तरविरोधको समाधान निकाल्ने बाटोमा सरकार रहेको बताएका छन् । मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै वनबाट जनताको वातावरणीय सामाजिक, आर्थिक सबै क्षेत्रमा योगदान पुग्ने स्थितिको श्रृजना गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सरोकारवालाहरुले विकास निर्माणको वहानामा वातावरणलाई नै प्रभावित पार्ने गरि बनविनास गर्ने क्रम रोकिनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *