आँखाको ज्योति फर्किएपछि वृद्धवृद्धा दङ्ग

पर्वत । दृष्टि गुमेको पाँच वर्षपछि पुनः संसार देख्न पाउँदा मनमा कति हर्ष होला १ त्यही हर्षको अनुभव सङ्गालेकी छिन् फलेवास नगरपालिका–५ खानीगाउँस्थित खोलाखेतकी ८० वर्षीया नरकुमारी कुँवर ।
पर्वतका विभिन्न लायन्स क्लबले जिल्ला अस्पताल पर्वतमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएकी नरकुमारीले आजबाट पुनः आँखा देख्नसक्ने भएकी हुन् ।
शल्यक्रिया गरेको दोश्रो दिन आँखाको पट्टी खोल्दा कुवँरको गुमेको ज्योति फर्किएको लायन्स क्लब अफ शिवालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माले बताए । “आँखाको मोतियाबिन्दु भएको पाँच वर्ष भएको रहेछ,’ उनले भने, “आँखा शिविरमा बिहीबार शल्यक्रिया गरिएको थियो, दोश्रो दिन खोल्दा आँखा देख्न सक्नु भएको छ । यो सफलताले हामीलाई खुशी मिलेको छ ।”
मोतियाबिन्दु भएका कारण करिब ७५ वर्षको उमेरदेखि नै कुँवरले आँखा देख्न छाडेकी थिइन् । मोतियाबिन्दुका कारण उनको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो । “देब्रे आँखाले अलि अलि भेउ पाएर यताउति गर्थे । साह्रै गाह्रो भएको थियो”, कुँवरले भनिन् ।
फलेबास नगरपालिकाकै चन्द्रबहादुर परियारको पनि डेढ वर्षदेखि आँखामा जालोले ढाकेको थियो । यही कारण उनलाई हिँडडुलका लागि निकै समस्या भएको थियो । उनले पनि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गराएपछि अब भने दुवै आँखाले देख्नसक्ने भएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण रोग पालेर बसेका ४५ वृद्धवृद्धाले सो शिविरबाट सेवा पाएका छन् । शिविरमा आँखा परीक्षण र मोतियाविन्दुको शल्यक्रिया निःशुल्क रूपमा गरिएको छ भने औषधि र चस्माका लागि सम्बन्धित बिरामीलाई न्यूनतम खर्च मात्र तिराइएको छ ।
प्रायः गरी घरको आर्थिक अवस्था न्यून भएका कारण रोग पालेर बसेकाहरू नै शिविरमा उपचारका लागि आएको बताइएको छ । अध्यक्ष शर्माका अनुसार लायन्स क्लब अफ शिवालय कुस्मा, लायन्स क्लब अफ पर्वत मोदी काली र लायन्स क्लब अफ पर्वत कुस्मा सिटीले हिमालय आँखा अस्पताल पोखराको सहकार्यमा जिल्लाका चार ठाउँमा पुगेर आँखाका बिरामीको परीक्षण गरेपछि शल्यक्रिया गर्नुपर्नेहरूलाई एकै ठाउँमा जम्मा पारेर शल्यक्रिया गरिएको हो ।
मोदी गाउँपालिका, फलेबास नगरपालिका र कुस्मा नगरपालिकामा चलाइएका आँखा शिविरहरूमा ८ सय ७० जनाको आँखा परीक्षण गर्दा ४५ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको थियो । आँखाको परीक्षण र शल्यक्रियामा हिमालय आँखा अस्पताल पोखराको टोली खटिएको थियो ।
लायन्सले सञ्चालन गरेका आँखा जाँच र शल्यक्रिया शिविरका लागि आवश्यक खर्च पनि लायन्सहरुले नै व्यवस्थापन गरेका हुन् । केही वर्ष अगाडिसम्म स्वास्थ्य शिविर सञ्चालन गर्न विदेशी लायन्स क्लबबाट सहयोग आउने गरेको भए पनि पछिल्ला चार वर्षयता कुनै पनि सहयोग नआएको शर्माको भनाइ छ । “चार वर्ष अगाडिसम्म डोनेसन आउँथ्यो धेरै शिविरहरू चलाउन सकिन्थ्यो । अहिले सहयोग आउन छोडेको छ”, उनले भने, “हामीहरूले खल्तीको पैसा खर्च गरेर शिविर चलाएका हौँ । कहीँकतैबाट सहयोग भएको छैन ।”
उनका अनुसार चार ठाउँमा राखिएका शिविर र एक ठाउँमा राखिएका मोतियाविन्दु शल्यक्रिया शिविरमा रु तीन लाखभन्दा बढी खर्च भएको अनुमान छ ।
Facebook Comment