ब्रुस लीको फोटो प्रयोग गर्दा रेष्टुरेण्टविरुद्ध मुद्दा, छोरीले मागिन् ३ अर्ब ४२ करोड क्षतिपूर्ति
काठमाडौं। बलिउड फिल्म स्टार ब्रुस लीको फोटो प्रयोग गर्दा एक चिनियाँ रेष्टुरेण्टविरुद्ध मुद्दा दायर भएको छ । ब्रुस लीकी छोरी शेनन लीले मुद्दा दायर गरेकी हुन् । शेननले दायर गरेको मुद्दामा रेष्टुरेण्टले बिना कुनै अधिकार उनका पिताको फोटो १५ वर्षदेखि प्रयोग गरिरहेको आरोप लगाइएको छ । उनले रेष्टुरेण्टसँग २१० मिलियन चिनियाँ युआन (३ अर्ब ४२ करोड ८७ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति माग गरेकी छिन् ।
चिनियाँ वेबसाइट सिनालाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार शेननले ९० दिनसम्म लगातार रेष्टुरेण्टसँग उनका पिताको कुनै सम्बन्ध नभएको स्पष्ट गर्न माग गरेकी थिइन् । शेनन अमेरिकाको लस एन्जल्समा ब्रुस ली इन्टरप्राइजेज नामको कम्पनी चलाउँछिन् जो यी सुपरस्टारको फोटोलाई प्रयोग गर्न अनुमति दिने काम गर्छ । ग्वान्झाउस्थित रेष्टुरेण्ट चेन रियल कुंग फू ले भने यति धेरै समयपछि मुद्दा दायर गरिनुको कारणबारे आफू अस्पष्ट भएको बताएको छ ।
कम्पनीले यस विषयमा जाँच गरिरहेको भन्दै छिटै प्रतिक्रिया दिने जनएको छ । बिहीबार कम्पनीले लोगोलाई सरकारी अधिकारीहरुले अधिकृत गरिसकेको बताएको थियो । यो रेष्टुरेण्ट चेनको सुरुवात सन् १९९० मा भएको थियो । कम्पनीले २००४ देखि यो लोगो प्रयोग गरिरहेको छ । कम्पनीका संस्थापकका अनुसार रेष्टुरेण्ट चेनका चीनभरमा ६०० भन्दा बढी रेष्टुरेण्ट संचालित छन् ।
Facebook Comment