पौडेल समूहको माग, केन्द्रीय समितिका सबै निर्णय खारेज होस्

काठमाडौं। नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद अब जिल्ला तहमा पनि पुग्ने देखिएको छ। शुक्रबार सभापति शेरबहादुर देउवाले पौडेल समूह र सिटौला समूहको बहिस्कारका बावजुद केन्द्रीय कार्य समिति बैठकबाट पार्टीको १४ औं महाधिवेशन, वर्तमान कार्य समितिको म्याद थप, तरुण दलको म्याद थप र विभागको संख्या बढाउने निर्णय गरेपछि शनिबार पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला भएको छ।
भेलाले शुक्रबारका सबै निर्णय खारेज हुनुपर्ने निश्कर्ष निकालेको भेलामा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए। उनले भने, ‘उहाँहरुले गरेको भनिएका सबै निर्णय खारेज हुनुपर्छ भन्ने निश्कर्ष रह्यो, ती निर्णयहरु खारेज नजभएसम्म अब वार्ता पनि हुँदैन।’
भेलाले पार्टी सभापति देउवाले परम्परा र विधान मिचेर एकलौटी निर्णय गरेको निश्कर्षसमेत निकालेको छ। केन्द्रीय सदस्य घिमिरेले डिसीनेपालसँग भने, ‘पार्टीको महाधिवेशनको मिति तोक्ने जस्तो कुरा अल्पमत र बहुमतबाट गर्ने काँग्रेसको परम्परा होइन, यो सबैको सहमतिमा हुनुपथ्र्यो भन्ने भेलाले निचोड निकालेको छ। कार्य समितिको पदावधि सकिएको बेला विभागको संख्या बढाउने कुरा पनि ठिक होइन, अझ विधानका विभिन्न धाराहरु निलम्बन गरिएका छन्। यसले पार्टी धरापमा पार्ने देखिएको छ।’
भेलाले सभापति देउवाको एकलौटी निर्णयबारे देशभरका कार्यकर्ताहरुसँग छलफल गर्नेसमेत निर्णय गरेको छ। केन्द्रीय सदस्य घिमिरेले भने, ‘शुक्रबारका सबै निर्णय खारेज भएनन् भने हामी पार्टीका साथीहरुसँग छलफल गर्छौं। जिल्ला सभापतिको भेला, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यलगायतसँग छलफल गर्छौ।’ उनले यस्तो छलफलमा प्राप्त हुने सुझावका आधारमा अगाडि बढ्नेसमेत बताए।
Facebook Comment