रुसले बनायो ध्वनीभन्दा पनि तिब्र गतिको क्षेप्यास्त्र
मस्को (एजेन्सी) । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएका थिए ।
राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको बताएका छन् । ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ । रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्त्वपूर्ण भएको बताए । पुटिनले मंगलवार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए । उनले भनेका थिए, ‘अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको कुरै छाडौँ ।’ पश्चिमा र अन्य राष्ट्रहरू रुसको पछि नै रहेको उनले दाबी गरे ।
पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरेका थिए । सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा छ हजार किलोमिटर परको लक्ष्यलाई प्रहार गरेको थियो । अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्छ । रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरेपनि अस्त्र विज्ञहरूले सो हतियारको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।
एक विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले रुसी दाबीमाथि नबोल्ने बताएको छ । अमेरिका र सन् २०१४ मा परीक्षण गरेको दाबी गरेको चीनसँग हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रम रहेको छ । सन् २०१० को न्यू स्टार्ट सन्धि अन्तर्गत गएको नोभेम्बर २६ मा रुसले अमेरिकी विज्ञहरूलाई अभानगार्डलाई निरीक्षण गर्न दिएको थियो । रुस र अमेरिकाबीच आणविक हतियारसम्बन्धी बाँकी रहेको परमाणु क्षेप्यास्त्र प्रणालीहरूको संख्या घटाउने सो सन्धि सन् २०२१ को फेब्रुअरीमा अन्त्य हुँदैछ ।
बीबीसीका रक्षा संवाददाता जनाथन मार्कसले रुसले दाबी गरे अनुसार ती क्षेप्यास्त्र प्रणाली जडान गरिएको वा परीक्षणकै रूपमा रहेको पुष्टि गर्न र्गाहो हुने बताएका छन् । उनी भन्छन्, ‘अहिलेका लागि रुस हाइपरसोनिक अस्त्र प्रणालीमा अग्रणी देखिएको छ । चीनले पनि यस्तो प्रणाली विकास गरिरहेको छ भने अमेरिका पछाडि परेको देखिएको छ ।’ मार्कसका अनुसार ती क्षेप्यास्त्रका लागि प्रतिरक्षा गर्न र्गाहो हुन्छ । उनी भन्छन्, ‘रुसको घोषणाले आणविक अस्त्रको दौडमा नयाँ र खतरनाक युग सुरु गरेको छ ।’
Facebook Comment