प्रचण्ड कार्यकारी भएपछि पहिलो पटक नेकपा बैठकमा दुई अध्यक्षको कुर्सी सँगै

डिसी नेपाल
१३ पुष २०७६ ११:५२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार दिएपछि पहिलोपटक नेकपाको बैठकमा दुई अध्यक्षको कुर्सी सँगसँगै राखिएको छ।

आज बसेको सचिवालय बैठकमा दुई अध्यक्ष दायाँबायाँ बसेर बैठकको संयुक्त अध्यक्षता गरेका हुन्। अध्यक्ष ओलीले गएको मंसिर ४ गते अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार सुम्पिएको र आफू सरकारमा केन्द्रित हुने घोषणा गरेका थिए।

त्यसयता पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो। तर, पार्टी कार्यालय धुम्बाराहीमा बसेको त्यो बैठकमा अस्वस्थताको कारण प्रधानमन्त्री ओली अनुपस्थित भएपछि प्रचण्डले अध्यक्षता गरेका थिए। गत साता पार्टीको संसदीय दलको बैठक बसेको थियो तर त्यो बैठकको अध्यक्षता संसदीय दलको अध्यक्षले गर्ने भएकोले संसदीय दलको नेताको हैसियतमा ओलीले अध्यक्षता गरे। संसदीय दलको बैठकको अध्यक्षता त अर्का अध्यक्षले गर्न प्राविधिक रुपमै मिल्दैन।

प्रधानमन्त्री ओली कारणवश अनुपस्थित रहेमा यसको अध्यक्षता संसदीय दलका उपनेता सुवास नेम्वाङले गर्नेछन्। आजको सचिवालय बैठक भने प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। यो बैठकमा पहिलोपटक दुई अध्यक्षले मान हैसियतमा अध्यक्षता गरेका हुन्। यसअघि अध्यक्ष ओलीले कार्यकारी अधिकार आफूलाई दिएपछि प्रचण्डले कान्तिपुर दैनिकसँग कुरा गर्दै अब आएर आफूलाई अध्यक्ष भएको अनुभूति भएको बताएका थिए।

लगत्तै अध्यक्ष ओलीले कान्तिपुर टेलिभिजनलाई दिएको अन्तरवार्तामा अध्यक्ष भनेकै कार्यकारी हुने भएकोले आफूले पनि अध्यक्षता गर्ने र प्रचण्डले पनि अध्यक्षता गर्ने बताएका थिए। प्रधानमन्त्रीको त्यो अन्तरवार्तापछि पार्टीका बैठकहरुमा कुनै बैठकको अध्यक्षता अध्यक्ष ओलीले एक्लै गर्ने र कुनै बैठकको अध्यक्षता अध्यक्ष प्रचण्डले एक्लै गर्ने अनुमान गरिएको थियो । तर, यो अनुमानविपरित आज दुवै अध्यक्षले समान हैसियतमा पार्टीको बैठकको अध्यक्षता गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *