झारखण्डका मुख्यमन्त्रीको शपथ ग्रहणमा विपक्षीको एकता

डिसी नेपाल
१३ पुष २०७६ १८:४२

नयाँ दिल्ली (एजेन्सी) । भारतको झारखण्डमा हालै भएको विधानसभा निर्वाचनमा विजयी हासिल गरेको विपक्षीहरुको गठबन्धनका तर्फबाट झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेनले आइतबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । काँग्रेस आई, मोर्चा र आरजेडीको गठबन्धनले भाजपाको सत्तालाई फालेर आफ्नो सरकार बनाएको हो । ८१ सदस्यीय विधानसभामा मोर्चाले ३०, काँग्रेसले १६ र आरजेडीले १ सिटमा जित हात पारेका थिए । उता सत्तारुढ दल भाजपाले मात्र २५ सिटमा चित्त बुझाएको थियो ।

सोरेनको शपथ ग्रहण कार्यक्रममा आइतबार झारखण्डमा सबै विपक्षी दलहरु एकै मञ्चमा देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सबै विपक्षी एकै मञ्चमा आएर सत्तारुढ भाजपालाई एक सन्देश दिएको भारतीय सञ्चार माध्यमहरुको विश्लेषण छ । शपथ ग्रहण सामारोहमा काँग्रेस आईका नेता राहुल गान्धी, पश्चि बंगालकी मुख्यमन्त्री तथा तृणमुल काँग्रेसकी नेता ममता बनर्जी, आमआदमी पार्टीका नेता सञ्जय सिंह, डीएमके अध्यक्ष एमके स्टालिन, आजेडीका तेजस्वी यादव सो समारोहमा सहभागी रहेको जनाइएको छ । यस्तै कम्युनिष्ट नेता सिताराम यचुरी र डी राजा पनि सो समारोहमा सहभागी रहेको जनाइएको छ ।

भारतमा नागरिकता ऐन संशोधन (सीएए)को विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ । लगभग सबै विपक्षी दलहरुले यो ऐन संशोधनको विरोध गरिरहेका छन् । यही परिपेक्षमा आइतबार झारखण्डमा देखिएको विपक्षीको एकताले सत्तारुढ दल भाजपालाई एक झड्का हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । नयाँ नागरिकता कानुनले मुस्लिममाथि विभेद गरेको भन्दै देशभर विरोध प्रदर्शन भइरहेको छ । विद्यार्थी र मुस्लिम संघ संगठनहरु, कलाकारहरुले पनि यो कानुनको विरोध गरिरहेका छन् । सरकार भने यो कानुन जसरी पनि लागु गर्ने बताउँदै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले यो कानुनले भारतमा रहेको मुस्लिमहरुलाई कुनै समस्या हुने तर्क गरिरहेका छन् । तर, उनीहरुको तर्कको प्रयाः कसैले समर्थन गरेको देखिँदैन । यहीबीचमा सरकारले जनसंख्या पञ्जिकरण गर्ने निर्णय गरेपछि त्यसको पनि विरोध भइरहेको छ ।

उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी दलका नेता अखिलेश यादवले आफुले जनसंख्या पञ्जिकरणमा आफ्नो नाम नलेखाउने भन्दै सरकारलाई चुनौती दिएका छन् । नागरिकता ऐन संशोधनको विरोधमा भएको प्रदर्शनका क्रममा उत्तरप्रदेशमा मात्र कम्तिमा १८ जनाको मृत्यु भएको छ । ती मध्ये १२ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै पूर्वोत्तर राज्य असम र मणिपुरमा पनि व्यापाक विरोध प्रदर्शनहरु भइरहेका छन् । असममा कम्तिमा ६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *