गृहजिल्लामा हमालले सम्झिए अतितका कुरा
पाल्पा। ‘पाल्पा आउँदा ममा विशेष भावना उजागर हुन्छ’ जन्मभूमिप्रतिको मोह पोख्दै महानायक राजेश हमाल बोले, –‘किनकी मेरो जन्मथलो पाल्पा हो। म मिशन अस्पतालमा जन्मिएको हुँ।’
उनले थपे, –‘मेरो बुवा–आमा, बाजे–बज्यै सबै पाल्पाको माटोमा हुर्किनुभएको हो। त्यसैले यो थलोमा केही समय बिताउन पाउँदा अत्यन्तै खुःसी लाग्छ।’ पाल्पाको दर्लमडाँडामा यसरी बोलिरहँदा उपस्थित दर्शकदीर्घाबाट हमालका खातिर स्थानीयहरु रोमान्टिक बने, तालि र सिट्ठीले हमालको भावनामा होमा हो मिलाए।
हमाल एक यस्ता कलाकार हुन्, जसलाई नचिन्ने नेपाली कमै छन्। पाल्पाको दर्लमडाँडामा शनिबार उनै हमालको प्रतिक्षामा स्थानीयको भीड थियो। ‘मेरो बुवा अर्चलेमा जन्मिनुभएको, आमा भैरवस्थानमा। त्यो बेलामा पनि उहाँहरुले प्रेमविवाह गर्नुभएको थियो। त्यसैको परिणामतः म यहाँ छु,’ त्यही भिडमा हमालले रोमान्टिक भावमा आफ्नो विगत कोट्याए।
उनले पाल्पासँगको साईनोबारे मात्र बोलेनन्, पाल्पाको विशेषता अन्यत्रभन्दा छुट्टै भएको बताउँदै पाल्पाको विकासमा सबै एकजुट हुनुपर्ने बताए। ‘पाल्पा पर्यटकीय, धार्मिक, शिक्षाको थलो बन्न सक्छ। त्यसको लागि सबैजना एकजुट हुनुपर्छ।’ हरेक कार्यक्रममा पुग्दा आफ्नो उमेरबारे ठट्टा गर्ने हमालले पाल्पामा पनि त्यसको निरन्तरता दिए।
उमेर र अभिनय क्षेत्रप्रति चासो जगाउँदै हमालले उपस्थितमाझ प्रश्न तेर्साए, ‘चलचित्र कत्तिको हेर्नुहुन्छ?’ पुनः थपे, ‘तपाईहरुकै मायाले चलचित्रमा ३०/३२ वर्षको यात्रा पूरा गरिसकेँ। चलचित्र यात्रा यति भएपनि उमेरचाँही २५ भन्दा माथि गएको छैन्।’ उनको ठट्यौलीपनले भीडमा हाँसो गुञ्जियो।
हमालको यतिमात्र ठ्टयौली भाव दर्शकलाई पुगेन्। भीड एकैस्वरमा हमालका केही हिट संवादका लागि आग्रह गरिरहेको थियो। हमालले भीडको आग्रह स्वीकार गर्दै, केही चर्चित संवाद सुनाए। स्थानीयस्तरमा हमालको क्रेज हेर्दा लाग्थ्यो, उनी अझै चल्तिका नायक हुन्, पर्दामा स्टारडम बोकेका अभिनेता हुन्। हमाल ‘प्रथम दर्लम पर्यटन तथा साँकृतिक महोत्सव’का लागि शनिबार पाल्पा पुगेका थिए।
पाल्पा जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा आफूलाई चिनाउने व्यक्तिहरुको जमघट गराउने उद्धेश्यले आयोजिक कार्यक्रमका हिस्सा बनेका थिए, महानायक हमाल।
मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता तथा पूर्व उद्योगमन्त्री/संघीय सांसद सोमप्रसाद पाण्डेय, पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह राना, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक गणेश अधिकारी, डा. भगवान कोइराला लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम स्थानीयका लागि सम्झनयोग्य बन्यो।
Facebook Comment