आँखाको नानी सङ्कलन र प्रत्यारोपण सेवा वरदान सावित

डिसी नेपाल
१३ पुष २०७६ २२:५०

काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठान, नेपाल आँखा बैंकले शुरु गरेको आँखाको नानी सङ्कलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ । बैंकमा हालसम्म ७५ हजारभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखादान गर्न प्रण गर्नेको सङ्ख्या दोब्बरले बढेको प्रतिष्ठानले जनाएको छ ।

आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहीन हुनुको पहिलो कारण मोतिविन्दु हो भने दोस्रो कारण आँखाको नानी बिग्रिएर हो ।

दृष्टिविहीनताको एकमात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउनु नै रहेको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले बताइन्। उनी भन्छिन्, “नेपालमा आँखाको नानीका कारण दृष्टिविहीन भएका थुप्रै व्यक्ति छन्, जो पुनः यो संसार नियाल्ने पर्खाइमा छन् । त्यस्ता व्यक्तिका लागि तपाईँ हामीले मृत्युपश्चात आँखादान गरिदिने हो भने एक दाताको आँखादानबाट दुईभन्दा बढी दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन् ।”

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी सङ्कलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो ।

बैंकले आँखाको नानी दान गर्ने दाताबाट मृत्युपश्चात नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ । प्रमुख कार्यकारी अधिकृत डा गुरुङले अहिले धेरै मानिसको आँखा दानप्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर रहेको बताइन्।

शुरुआती चरणमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दान म्बन्धी जनचेतना जगाई यसबारेमा बुझाउने गरिन्थ्यो । अहिले आर्यघाटमा विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताले परामर्श तथा जानकारी दिने गर्दछन् । यसले गर्दा आँखादान गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको बैंकका मेडिकल डाइरेक्टर डा लीना बज्राचार्यको भनाइ छ ।

त्यस्तै स्थानीय आँखा अस्पताल मेची, विराटनगर, लाहान, हेटाँैडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्र स्थापना भई आँखाको नानी सङ्कलन गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

नेपाल आँखा बैंकले आँखा बैंकको अन्तरराष्ट्रिय महासङ्घ तथा दृष्टि जीवनले निर्धारण गरेको मापदण्ड पूरा गरी अन्तरराष्ट्रिय गुणस्तरलाई कायम राखेको जनाएको छ । बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देशभित्रबाटै सङ्कलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराइएको छ ।

आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गर्नुहुने दाताको सम्झना र सम्मानमा उनीहरुका परिवारको उपस्थितिमा श्रद्धासुमन अर्पण गर्न सामूहिक श्रद्धाञ्जलिसभाको आयोजना गर्दै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै शनिबार प्रतिष्ठानले यसवर्ष पनि सामूहिक श्रद्धाञ्जलिसभा आयोजना गरेको थियो ।

श्रद्धाञ्जलिसभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मृत्युपश्चात आँखादान गर्ने घोषणा गर्दै आँखादान सबैभन्दा ठूलो पूण्य हो भने । आँखाको नानी सहीरूपमा अरुलाई प्रत्यारोपण गर्ने चिकित्सक नै यो धर्तीको वास्तविक भगवान भएको उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले २५ वर्षअघि एकजनाबाट शुरु गरिएको आँखादान आज आएर हजारौं व्यक्तिले प्रदान गरिरहेको बताउँदै आँखा बैंकको टोलीले शुरुदेखि मेहनत गरेर यहाँसम्म आइपुगेको उल्लेख गरे । आँखादान भन्ने वित्तिकै व्यक्तिको मृत्युपश्चात आँखाको डल्लो झिक्ने नभई बाहिरको नानी मात्र झिक्ने जानकारी गराउँदै उनले यसमा धार्मिक, सांस्कृतिक रुपमा केही पनि अफ्ठ्यारो नहुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *