लोकतन्त्रको जग बलियो बनाउनुपर्छ : पूर्वराष्ट्रपति डा. यादब

डिसी नेपाल
२१ भदौ २०७५ १:१२

तनहुँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रलाई संस्थागत गर्न लोकतन्त्रको जग बलियो बनाउनुपर्ने बताएका छन्।

व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनको बुधबार यहाँ एक समारोहबीच उद्घाटन गर्दै उनले भने, ‘लोकतन्त्रको जग बलियो भयो भने मात्र नेपाली जनताले समृद्धि र सुशासनको अनुभूति प्राप्त गर्न सक्छ, त्यसैले यसका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्दछ ।’

पूर्वराष्ट्रपति डा यादवले बहुउद्देश्यीय भवन निर्माणले यहाँको विकासमा ऊर्जा थपेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि पर्यावरण र सम्पदालाई जर्गेना गरी कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिए।

तीनवटै तहका जनप्रतिनिधिले जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्नुपर्ने पनि उनले बताए ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालीहरुलाई विदेशिनु नपर्ने गरी ऊर्जा शक्तिबाट धनी राष्ट्र बनाउनुपर्नेमा जोड दिदैं आत्मनिर्भर हुनका लागि कृषि र पर्यटन क्षेत्रमा क्रान्ति गर्नुपर्ने बताए।

व्यासनगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य आशा कोइराला, दोबाटे बिक र सरिता गुरुङ, नेकपाका केन्द्रीय सदस्य पीएल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा पूर्वसांसद धुव्र वाग्लेलगायतले बहुउद्देश्यीय भवन निर्माणले नगरपालिकाको आयस्तर वृद्धि हुने बताए ।

नगर विकास कोषको ऋण तथा अनुदान सहयोग र व्यास नगरपालिकाको रु ११ करोड ३७ लाख ८६ हजार संयुक्त लगानीमा उक्त भवन निर्माण भएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *