भारतमा अब सबै सेनाको नेतृत्व एकैजनाको काँधमा, विपिन रावत बने पहिलो सिडिएस
नयाँ दिल्ली । भारतले पहिलो पटक आफ्ना सबै किसिमका सेनाको नेतृत्व एउटै व्यक्तिलाई दिएको छ । यसअघि जलसेना, स्थलसेना, वायुसेनाका प्रमुख छुट्टाछुट्टै हुन्थे । तर अब भने यी सबै किसिमका सेना प्रमुखभन्दा माथि चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) हुनेछन् र उनैले सबै सेनाको नेतृत्व गर्नेछन् । भारतीय सेना प्रमुख जनरल विपिन रावतलाई पहिलो सिडिएस बनाइएको छ । रावतले आज ३१ डिसेम्बरका दिन स्थल सेना प्रमुख पदबाट आवकाश पाउँदैछन् । आज अवकाश पाए लगत्तै उनले सबै सेनाको प्रमुख सिडिएसको हैसियतमा आजैदेखि जिम्मेवारी सम्हाल्नेछन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्षको स्वतन्त्रता दिवस १५ अगष्टका दिन दिल्लीको लालकिल्लामा सम्बोधन गर्दै तीनै सेनाको बीच तालमेललाई अझै राम्रो बनाउन चिफ अफ डिफेन्स स्टाफ नयाँ पद बनाउने घोषणा गरेका थिए । त्यतिबेलादेखि नै सिनियर मिलिट्री कमाण्डर भएका कारण बहालवाला सेनाध्यक्ष जनरल विपिन रावतलाई सिडिएस बनाइने अनुमान गरिएको थियो । जनरल विपिन रावतले भारतीय सेनाध्यक्षको रुपमा आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी आज अवकाश लिँदैछन् । ६२ वर्षका रावतले ६५ वर्षको उमेरसम्म सिडिएसको जिम्मेवारी सम्हाल्नेछन् ।
सिडिएसको भूमिका के हुन्छ ?
सिडिएसको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी तीनै सेनाको तालमेललाई अझै राम्रो बनाउन छिटै सैन्य मामिलाको विभाग (डिपार्टमेन्ट अफ मिलिट्री अफेयर्स) को गठन गर्नु हुनेछ । सिडिएस यसका प्रमुख हुनेछन् । सिडिएस चिफ अफ स्टाफ कमिटीका स्थायी अध्यक्ष हुनेछन् । उनले सशस्त्र सेनाहरुको अपरेशनमा आपसी समन्वय र त्यसको लागि आर्थिक व्यवस्थापन समेत गर्नेछन् । सिडिएस तीनै सेनासँग सम्बन्धित विषयमा रक्षा मन्त्रीका मुख्य सैन्य सल्लाहकार हुनेछन् । सिडिएस तीन सेनाका प्रमुखहरु जस्तै चार स्टार अफिसर हुनेछन् तर प्रोटोकलमा माथि हुनेछन् ।
सूत्रका अनुसार सिडिएससँग तीनै सेनाको प्रशासनिक विषयमा निर्णय गर्ने अधिकार हुनेछ । तर उनले कुनै मिलिट्री कमाण्ड भने दिन पाउने छैनन् । सिडिएसले यो पदमा एकपटक रहेपछि अन्य कुनै रकारी पदमा भने रहन पाउने छैनन् । केन्द्र सरकारले जनरल रावतलाई पहिलो सिडिएसको रुपमा नियुक्त गर्ने आशय व्यक्त गरेपछि रक्षा मन्त्रालयले सेनाको नियम – १९५४ मा कार्यकाल र सेवाको नियम संशोधन गरेको छ । रक्षा मन्त्रालयले २८ डिसेम्बरमा जारी गरेको सूचनामा सिडिएसले ६५ वषर््को उमेरसम्म सेवा दिन सक्ने जनाएको छ ।
Facebook Comment