सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व

डिसी नेपाल
१७ पुष २०७६ १४:०९

जीवन भण्डारी
काठमाडाैं। सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ। राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ। यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला पनि ज्यान गएको छ। सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तिलाई यहाँ स्मरण गरिएको छ।

बलिउड अभिनेता कादर खानको निधन

बरिष्ट बलिउड अभिनेता कादर खानको सन् २०१९ कै पहिलो दिन जनवरी १ मा ८१ वर्षको उमेरमा निधन भयो। क्यानाडाको एक अस्पतालमा उपचार भइरहेका बेला खानको निधन भएको थियो । दुई दिन अघि नै उनको निधन भएको हल्ला फैलिएको थियो। त्यो हल्लाको परिवारजनले खण्डन गरेपनि हल्ला नै सत्य सावित हुन पुगेको जानकारी पछि आयो। अफगानिस्तानमा जन्मिएर भारतीय सिने क्षेत्रमा चर्चित खान भारतीय साहित्यमा अब्बल लेखक र हास्यविधामा जमेका कलाकार थिए।

संसारकै ज्येष्ठ पुरुषको विदाई

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का अनुसार विश्वकै सबैभन्दा जेठा पुरुष मानिएका ११३ वर्षको उमेरमा सन् २०१९ जनवरी २० मा निधन भयो। जापानका नागरिक मसाजो नोनाकाको सन् १९०५ मा जन्म भएको थियो। सन् २०१८ मा उहाँलाई स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनलाई जिवित पुरुषहरुमध्ये संसारकै सबैभन्दा जेठो व्यक्ति घोषणा गरिएको थियो।

अष्ट्रेलियाली पूर्व प्रधानमन्त्री बवको निधन

लेबर पार्टीका प्रभावशाली नेता सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री बन्नु भएका बव हकको पनि यसै वर्ष ८९ वर्षको उमेरमा निधन भयो। आफ्नो ८ वर्षे कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरेका बवको सन् २०१९ को मे १६ मा निधन भएको हो। बव नेतृत्वको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीरण गर्दै आर्थिक स्वतन्त्रता र रोजगारीमा बृद्धि गराएको थियो।

मलेसियाका सातौँ राजाको स्वर्गारोहण

मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको सन् २०१९ को मे २२ मा ८८ बर्षको उमेरमा निधन भयो। पाहाङ राज्यका पाँचौ राजा सुल्तान सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष सातौँ केन्द्रीय राजा बनेका थिए। सन् १९३० मा जन्मनु भएका उनी सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए।

नाट्य क्षेत्रले गुमायो लोकप्रिय नाट्यकर्मी

जीवित भारतीय नाट्यकर्मीमध्ये सम्भवतः सबैभन्दा लोकप्रिय गिरिश कर्नाडको ८१ वर्षको उमेरमा जुन १० मा निधन भयो। भारतको सबैभन्दा उच्च साहित्यिक पुरस्कार जनपीठलगायतका सम्मान पाएका कर्नाडले भारतीय समाज र समय प्रतिबिम्बितमा आधारित थुप्रै नाटक लेख्नुका साथै मौलिक छाप पार्ने अभिनय गर्नु भएको छ। हालको कर्नाटक राज्यमा जन्मिनु भएका कर्नाडले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गणित विषयको उच्च शिक्षामा छात्रवृत्तिमा अध्ययन गरेका थिए। अक्सफोर्ड विद्यार्थी युनियनका अध्यक्षसमेत भएका उनी भारत फर्केर कलाकर्ममा लागेका थिए।

अदालतमा बयानकै क्रममा मोर्सीको मृत्यु

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको जुन १७ मा निधन भयो। आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि कायरोस्थीत अदालतमा बयान दिइरहेका बेला उनको निधन भएको हो। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई सन् २०१२ मा निर्वाचित भएको एक वर्षमै इजिप्टको सेनाले अपदस्त गरी जेल हालेको थियो।

स्टेजमा प्रस्तुतीकै क्रममा अस्ताए हाँस्य कलाकार

‘स्ट्याण्डअप कमेडी’का लागि चर्चित मञ्जूनाथ नायडुको जुलाई २१ मा प्रस्तुति दिने क्रममा दुबईमा स्टेजमै निधन भयो। प्रस्तुति दिँदै गर्दा अचानक ढलेका बेला दर्शकले त्यसलाई प्रस्तुतिकै लागि ढलेको ठानेका थिए। आफ्नो परिवार र डिप्रेसनको बारेमा बताउदै ठट्टा गरिरहेका बेला उनी ढल्नु भएको थियो । उनी स्टेजमा गएको एक मिनेटमै ढलेका थिए। आबुधाबीमा जन्मेका मञ्जुनाथका बाबुआमाको भने उनी सानै छँदा निधन भएको थियो। उनको यस्तो अनौठो निधनले विश्वभरी नै चर्चा पाएको थियो।

चिनियाँ पूर्व प्रधानमन्त्री पेङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली पेङको ९० वर्षको उमेरमा जुलाई २२ मा निधन भयो । चीनका अन्य शीर्ष पदहरूमा रहेर सन् १९८० र १९९० को दशकमा उनले काम गर्नु भएको थियो। पेङ सन् १९८९ मा नेपाल भ्रमणमा आएका थिए। सन् १९८९ मा बेइजिङमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनमा मुख्य भूमिका खेलेको पात्रको रुपमा उहाँ बढी चर्चित थिए।

चर्चित साहित्यकार मोरिसनको मृत्यु

विश्व चर्चित साहित्यकार तथा साहित्य विधामा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको पनि यसैवर्ष अगस्ट ५ मा निधन भयो। ८८ वर्षमा निधन भएकी मोरिसनलाई अमेरिकामा अल्पसंख्यक समुदाय, अफ्रिकी अमेरिकीको पक्षमा बोल्ने र लेख्ने सशक्त व्यक्ति मानिन्छ। मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला पनि हो। उनले ११ वटा उपन्यास तथा बालबालिकाका निम्ति धेरै किताब र निबन्ध लेख्नु भएको छ। उनीका उपन्यासहरू ‘द न्यूयोर्क टाइम्स’ अखबारको सबभन्दा धेरै बिक्ने सूचीमा धेरै पटक परेका छन्। उनले सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको हातबाट ‘प्रेजिडेन्सियल मेडल अफ फ्रिडम’ पाएका थिए। उनको बिहे पाँच वर्षकै उमेरमा भएको बताइन्छ।

स्वराजलाई गुमाउँदा दक्षिण एसिया शोकाकुल

भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको अगस्त ६ मा निधन भयो। स्वराजलाई भारतमा प्रभावशाली र सशक्त नेतृका रुपमा स्मरण गरिन्छ। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनावमा उम्मेदवारी दिएका थिइनन्। सन् २०१४ को २६ मे देखि पाँच वर्ष भारतको विदेश मन्त्री थिइन्।

भारतीय नेता अरुण जेटलीको अस्त

लामो समयदेखि बिरामी परेका भारतका भूतपूर्व अर्थमन्त्री ताथा भारतीय जनता पार्टीका नेता अरुण जेटलीलाई पनि यस वर्ष गुमाउनु पर्यो। दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएका जेट्लीको अगस्ट २४ मा निधन भयो।

प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र ६६ वर्षीय जेटली सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता थिए। जेटलीले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागू गर्न महत्वपूर्ण भूमिका खेखेका थिए। जेटली अर्थमन्त्री भएकै बेला प्रधानमन्त्री मोदीले ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गरेका थिए।

३७ वर्ष शासन गरेका मुगाबेको विदेशमा मृत्यु

जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा सेम्टेम्बर ६ मा विदेशमा निधन भयो। उनले जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री हुदै राष्ट्रपति भएर ३७ बर्ष एकछत्र शासन गरेका थिए। उनलाई सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेर नजरबन्दमा राखेको थियो । नजरबन्दमै रहेका बेला विरामी भएपछि सिङ्गापुरमा उपचारको क्रममा उनको निधन भएको हो। उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले उहाँलाई “जिम्बाव्वे स्थापना गर्ने पिता“ तथा “मुक्तिका प्रतीक“ को सङ्ज्ञा दिएका थिए।

जापानका सुधारवादी पूर्वप्रधानमन्त्रीको विदाई

जापानका लोकप्रिय नेताको छवि बनाएका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा नोभेम्बर २९ मा निधन भयो सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएको र आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाएकोमा उनको उच्च प्रशंसा गर्ने गरिन्छ ।

उनले सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गरेका थिए। आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित गरेर उहाँले नै जापानलाई समृद्धिको आधार तयार पारेकाे मानिन्छ।

विश्वका अरु पनि केही चर्चित व्यक्तित्वलाई विश्वले सन् २०१९ मा गुमाएको छ। अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला, हलिउड स्टार जेन माइकल भिनसेन्टलगायतको पनि यसै वर्ष निधन भएको हो।  रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *