सिंहदरबार छिरेका कुकुरहरुको धमाधम बन्ध्याकरण
काठमाडौं। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा छिर्ने कुकुरहरुको धमाधम बन्याकरण भइरहेको छ। सिंहदरबार परिसरभित्र ठूलो संख्यामा कुकुरहरु छन् र यहाँ बाहिरबाट पनि कुकुरहरु आइरहन्छन्। ती सबै कुकुरहरुको बन्याकरण गर्ने अभियान चलिरहेको हो।
काठमाडौं महानगरपालिकाले ‘मनुमित्र’ कार्यक्रममार्फत महानगरीय कुकुर व्यवस्थापन अभियान अन्तर्गत ‘कुकुर स्वास्थ्यको रक्षा नै जनस्वास्थ्यको सुरक्षा’ नारासहित यो अभियान संचालन गरेको हो। यो अभियान ३ वर्षअघि सिंहदरबारबाटै सुरु भएको थियो। अहिले यो अभियान महानगरका ३२ वटै वडामा विस्तार भइसकेको छ।
महानगरले अहिलेसम्म सिंहदरबारभित्र मात्रै २ सय भन्दा धेरै कुकुरको बन्ध्याकरण गरिसकेको छ। पूरै महानगरमा १० हजारभन्दा धेरै कुकुरको बन्ध्याकरण भइसकेको छ। महानगरभित्रका वडा नम्बर १६ र ३ मा कुकुरहरुको बन्ध्याकरण गर्ने काम पूरा भइसकेको छैन। अहिलेसम्मको तथ्यांकअनुसार वडा नम्बर ३२ कोटेश्व्र क्षेत्रमा सबैभन्दा बढी १८०० कुकुरको बन्ध्याकरण गरिएको छ।
यो अभियान सुरु गर्दा २०१६ मा सिंहदरबारभित्रै क्याम्प खडा गरेर कुकुरको बन्ध्याकरण गरिएको थियो। त्यतिबेला सिंहदरबारभित्र १०८ कुकुरको बन्ध्याकरण गरिएको मनोमित्र कार्यक्रमकी प्रमुख संगीता सापकोटा बताउँछिन्। ‘त्यतिबेला हामीले १०८ कुकुरको बन्ध्याकरण गर्यौं तर झण्डै एक महिनापछि त्यहाँ बन्ध्याकरण नगरिएका कुकुर देखा परेको भन्दै हामीलाई खबर आयो’, उनले भनिन् ‘त्यसपछि फेरि गएर तिनीहरुको पनि बन्ध्याकरण गर्यौं।’
अभियान सुरु गर्दा २०१६ मा सिंहदरबारभित्रै क्याम्प खडा गरेर कुकुरको बन्ध्याकरण गरिएको थियो। त्यतिबेला सिंहदरबारभित्र १०८ कुकुरको बन्ध्याकरण गरिएको थियाे
सिंहदरबारमा कुकुर छिर्न मिल्ने गेटहरु चारैतिर भएको र सिंहदरबार परिसरको कम्पाउण्ड पनि ठूलो भएकोले यहाँभित्र कुकुर पसिरहन्छन्। बन्ध्याकरण नगरेका नयाँ कुकुर यहाँ आइरहने देखिएपछि मनोमित्र कार्यक्रमले यहाँभित्र कार्यरत कर्मचारीहरु मध्येबाटै एक समिति बनाएको छ। समितिमा उपप्रमुख मर्यादापालक सानुभाइ खड्का, शाखा अधिकृत गोविन्द गौतम, मर्यादापालक बाबुराम खत्री र क्यान्टिन संचालक बिक्रम राई छन्।
सिंहदरबारभित्र नयाँ कुकुर भेटिएमा यो समितिले मनोमित्र कार्यक्रमलाई सूचना दिन्छ त्यसपछि कुकुर व्यवस्थापन गर्ने प्राविधिकहरु आएर कुकुर लैजान्छन्। यसरी आउने प्राविधिकहरुले उक पटक २० वटा भन्दा धेरै कुकुर नलैजाने कुकुर समात्ने काममा खटिएका प्राविधिक रुपेश कारञ्जितले बताए। ‘हामीले १ पटकमा बढीमा २० वटा कुकुर लिएर जान्छौं र बन्ध्याकरण गर्छौं’ उनले भने ‘बन्ध्याकरण गर्दाको घाउ निको नहुँदासम्म हामीसँगै राख्छौं, घाउ निको भएपछि मात्रै छाड्छौं।’
कुकुर समात्ने अर्का प्राविधिक झनक मगरका अनुसार यसरी समातिएका कुकुर जहाँबाट समातिएको हो त्यही ठाउँमा लगेर छाडिन्छ। ‘हामीले यहाँबाट समातेर लिएर गएका कुकुरलाई बन्ध्याकरणपछि यहीँ ल्याएर छाड्ने हो’, सिंहदरबारमा कुकुर समात्दै गर्दा भेटिएका उनले भने ‘नयाँ ठाउँमा छाड्दा त्यहाँको वातारणमा घुलमिल हुन नसक्ने समस्या देखिएकोले जहाँबाट समात्यो त्यहीँ छाड्छौं।’
यसरी बन्ध्याकरण गरिएका कुकुरलाई पहिचान गर्न सजिलो होस् भनेर उनीहरुको कानमा अंग्रेजीको ‘भी’ अक्षरको आकारमा थोरै काटेर चिनो लगाइन्छ। यसरी बन्ध्याकरण गरिएका कुकुरलाई बन्ध्याकरण गरेकै समयमा रेबिज रोगविरुद्धको खोप पनि दिइन्छ।
यसरी तीन वर्षदेखि लगातार बन्ध्याकरणको काम भइरहेको भए पनि कुकुरको संख्या भने कम हुन सकेको देखिएको छैन। सिंहदरबारभित्र रहेको महानगरीय सुरक्षा प्रहरी गणका उक प्रहरी अधिकृतका अनुसार लगातार बन्ध्याकरण गरिए पनि सिंहदरबारभित्र बन्ध्याकरण नगरिएका कुकुर पनि उत्तिकै देखिन्छन्। उनी यसरी कुकुरको खंख्या नघट्नुमा बन्ध्याकरणमा कुनै प्राविधिक त्रुटि भएको र कुकुर जन्मिने क्रम नरोकिएको आशंका व्यक्त गर्छन् ।
कुकुरको बन्ध्याकरण गर्ने प्राविधिकहरु भने यो कुरामा सहमत छैनन्। बन्ध्याकरणमा त्रुटि भएको भए बच्चा कुकुर थपिनुपर्ने तर बयस्क कुकुर नै थपिएकोले यहाँ बाहिरबाट कुकुरहरु आउने गरेको उनीहरुको ठम्याइ छ। सिंहदरबारमा कुकुर चारै दिशाबाट प्रदेश गर्न सक्ने भएकोले बाहिरबाटै कुकुर आएको उनीहरु दावी गर्छन्।
सबै तस्वीर : रमण मानन्धर /डिसी नेपाल
Facebook Comment