मन्त्रीले नै उखु किसानहरुको भुक्तानी दिलाउँछु भनेपनि उखु किसानहरु घर फर्किन तयार !
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने बताएका हुन्। उनले भने, ‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ । म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु।’
उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराइसकिने विश्वास दिलाए। उनले भने, ‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाइदिने प्रतिबद्धता व्यक्त गर्दछु। सरकारले नै अब किसानहरुको भुक्तानी उठाइदिने जिम्मेवारी लिएको छ।’
उनका अनुसार १३ वटामध्ये ३ वटा चीनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ। उनले भने, ‘उखु किसानहरुको माग र समस्याको दीर्घकालीन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं। र त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ। त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं। अब उखु किसानहरुलाई दिइने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं।’
उनले आफूहरुले उखु किसानहरुको मागलाई गम्भिरतापूर्वक लिएको सुनाउँदै किसानको समस्या समाधान गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए। उनले भने,‘अब शंका उत्पन्न गर्न दिन्नौं ।’
उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए। मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चीनी चाहिने आवश्यकत्ता औंल्याए। उनले भने,‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । हामीलाई अझै ६५ हजार अभाव छ। सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ।’
कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए । उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् ।
मिश्रले अघि थपे,‘मिडियाकै कारण हाम्रो आन्दोलन सफल हुन मद्दत पुग्यो । खासगरी प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमले हाम्रा माग पूरा गराउनको लागि ठूलो भूमिका खेलेको छ । कतिसम्म भने हाम्रो तराईका विभिन्न गाउँघरमा उहाँको कार्यक्रम ठूलो पर्दामा राखेर हेर्ने गरेका छौं । उहाँको कार्यक्रमले गर्दा आज हाम्रो माग पूरा भएको छ ।’
कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे ।
उनले भने,‘सरकारी पक्षबाट हामीले धेरैपटक धोका खायौं । तल्लो तहमा रहेका सरकारी निकायबाट हाम्रा मागप्रति कुनै सुनुवाई भएन । अहिले मन्त्रीज्यूले भनेको कुरामा हामी विश्वस्त छौं । सरकारले भनेको कुरामा विश्वास छ । तर, लिखित प्रतिबद्धता आउनुपर्यो । मन्त्रीज्यूले क्लबको यो साक्षात्कारमा हाम्रो माग पूरा गर्न लिखित प्रतिबद्धता जनाउने कुरा गर्नुभयो । हामी खुशी छौं ।’
अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे । उनले भने,‘मैले तीन वर्षदेखि तीन लाख लिनुपरेको छ । तर, यो बीचमा मैले आफ्नो स्वास्थ्योपचारदेखि अन्य धेरै समस्याको समाधान ऋण मागेर गर्नुपरेको छ । अब ऋणको ब्याज तिर्दा म त धेरै ठूलो मारमा पर्छु नि ।’
Facebook Comment