वैदेशिक रोजगारीलाई मर्यादित बनाउन पत्रकारको अहम् भूमिकाः श्रममन्त्री यादव
काठमाडौँ । वैदेशिक रोजगारीको क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँग भेटवार्ता गरेको छ।
बिहीबार समाजको दशौँ वार्षिक उत्सवको अवसरमा श्रम मन्त्रालयमा आयोजित भेटघाट तथा परिचयात्मक छलफल कार्यक्रममा वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल भएको थियो।
छलफलमा समाजका अध्यक्ष हरिबहादुर थापाले वैदेशिक रोजगारका क्षेत्रसँग सम्बन्धित समाजका उद्देश्यहरू, हालसम्म समाजद्वारा गरिएका कार्यहरु, र भविष्यका कार्यक्रमबारे मन्त्री यादवलाई जानकारी गराएका थिए।
समाजको नयाँ कार्यसमितिलाई मन्त्री यादव तथा मन्त्रालयका सचिव विनोद केसीले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको लागि कामना गरेका थिए । वैदेशिक रोजगारीको क्षेत्रलाई अझ बढी व्यवस्थित तथा मर्यादित बनाउनका लागि पत्रकारहरूको अहम् भूमिका रहेको उनको भनाई थियो।
उनले कार्यक्रममा बोल्दै विदेशमा रहेका नेपाली श्रमिकका हकहित तथा समस्या समाधानमा सरकार पत्रकारहरूसँग नजिक भएर सहकार्य र समन्वय गर्न तयार रहेको बताए। उनले भने– ‘वैदेशिक रोजगारीको क्षेत्रलाई अझ बढी व्यवस्थित तथा मर्यादित बनाउन तपाई यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरूको अनुभव र रचनात्मक सुझावको हामीले अपेक्षा गरेका छौ, श्रमिकका हकहित तथा समस्या समाधानमा नजिक भएर सहकार्य र समन्वय गर्न हामी तयार छौँ ।’
भेटघाट कार्यक्रममा समाजका अध्यक्ष हरि बहादुर थापा, उपाध्यक्ष उद्धवराज भट्टराई, इन्द्रलक्ष्मी घिमिरे, महासचिव, रेशमराज पौडेल, कोषाध्यक्ष निर्मला घिमिरे, कार्यसमिति सदस्यहरु अरिश्मा मोक्तान, विनेश खनाल, सुनिता पुडासैनी, सल्लाहकारहरू रामजी बगाले, मदन कुमार श्रेष्ठ, रुद्र खड्का, मधुजंग पाण्डे, मुना कुँवर लगायतको सहभागिता रहेको थियो।
मनाइयो समाजको दशौँ वार्षिकोत्सव
सोही दिन साँझ समाजले आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ । युनियन हाउस अनामनगरमा मनाइएको वार्षिकोत्सव समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट प्रमुख अतिथि थिए ।
उनले वर्तमान समयमा वैदेशिक रोजगारको क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड र रोजगारीको स्रोत भएको बताउँदै यस क्षेत्रमा रहेका समस्याहरूको उजागरमा शसक्त ढंगमा प्रस्तुत हुन समाजका पदाधिकारीहरूलाई आग्रह गरेका थिए । उनले महासंघ समाजलाई आवश्यक सहयोग गर्न तत्पर रहेको पनि बताए ।
सोही अवसरमा समाजका नवनिर्वाचित पदाधिकारी, सल्लाहकारहरू तथा संस्थापक अध्यक्षलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
Facebook Comment