जमैकाका पर्यटनमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन
काठमाडौं । जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेटले भूकम्पले क्षति भई पुनःनिर्माण भइरहेका काठामाडौँका विभिन्न स्थानका सम्पदाको अवलोकन भ्रमण गरेका छन् । धरहरा, वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र, दरबार हाइस्कूल, रानीपोखरी, त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको अवलोकन गरी उनले नेपालका सम्पदा पुनःनिर्माणबारे जानकारी लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए।
मन्त्री बार्टलेटले चासोका साथ पाँच सम्पदा स्थलको भ्रमण गरी पर्यटन प्रवद्र्धनमा दुई देशबीच सहकार्य गर्ने योजना अघि बढाउने प्रतिबद्धता समेत जनाएकाछन्। अवलोकनका क्रममा मन्त्री बार्टलेटले अझ बलियो र सुरक्षित पुनःनिर्माण हुनुपर्नेमा जोड दिए। नेपालमा भइरहेको पुनःनिर्माणका कामबाट आफू प्रभावित भएको र सम्पदा पुनःनिर्माणका क्रममा मौलिकता जोगाउँदा त्यसले पर्यटनमा सकरात्मक प्रभाव पार्ने उनको प्रतिक्रिया थियो ।
अवलोकन भ्रमणपछि मन्त्री बार्टलेटले नेपालको पुनःनिर्माण अनुकरणीय भएको प्रतिक्रिया दिए । उनी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोहमा सहभागी हुन नेपाल आएका हुन् ।
Facebook Comment