फोहरमैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै सम्पन्न गर्न निर्देशन
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडामा निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिए।
काठमाडौैँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठलगायत उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधिसहितको टोलीसहित बञ्चरेडाँडा पुगेका उनले केन्द्र निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले सो स्थानमा केन्द्रको निर्माणसम्पन्न भएपछि अबको सय वर्षका लागि फोहर व्यवस्थापनको समाधान हुने समेत बताए । उनले केन्द्र निर्माणका क्रममा देखिएका समस्या हल गर्दै अघि बढिनेछ भने ।
उनले भने, “उपत्यकालाई सुन्दर शहर निर्माण गर्नका लागि बञ्चरेडाँडाको भूमिका छ ।” मानन्धरले आफू पनि यही क्षेत्रको भएकाले बञ्चरेडाँडा वरपरका स्थानीयवासीको समस्याको सुनुवाइ गर्दै कामलाई तीव्रता दिने बताए । उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग आफूले फोहर व्यवस्थापनसँगै पीडित जनताको आवाज सुन्न आग्रह गरेको बताउँदै उनले जनहितमा काम गर्ने बताए । उनले आफू नियमित अनुगमन र जनगुनासो सम्बोधनका लागि पाक्षिक रुपमा यस ठाउँमा आउने बताए ।
मन्त्रीसँगै बञ्चरेडाँडा पुग्नुभएका काठमाडौँ महानगरका प्रमुख शाक्य र ललितपुर महानगरका प्रमुख महर्जनले मन्त्रीको योजनानुसार काम गर्न सहयोग गर्ने वचन दिएका छन् । नुवाकोटका सांसद नारायण खतिवडाले नुवाकोटलाई काठमाडौँको फोहर फाल्ने ठाउँमात्रै बनाउन खोजिए आफूहरुलाई सह्य नहुने भन्दै जनताको हित हुनेगरी फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि सहरी विकास तथा भवन निर्माण विभागले केन्द्रको निर्माण गरिरहेको छ । उक्त आयोजनाको लागत ३४ करोड ६८ लाख रहेको छ । उक्त परियोजना निर्माणकै लागि सरकारले स्थानीयवासीको एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
Facebook Comment