सन्त नेताको स्मृतिमा : जव किशुनजीले चुनाव हार्नुभयो…
सियाटल, अमेरिका । मलाई अहिले पनि याद छ, २०४८ सालको आम निर्वाचन पछिको कुरा हो । अत्यन्त विषम स्थितिमा किशुनजीले आफ्नै नेतृत्वमा देशको नयाँ संबिधान जारी गरिसकेपछि नयाँ संबिधानअनुरुपको संसदीय आम निर्वाचन पनि आफ्नै नेतृत्वमा सम्पन्न गर्नुभयो । तर, आश्चर्यको बिषय त के भयो भने त्यति सरल र सफल नेता, देशको प्रधानमन्त्री अनि पार्टीको अध्यक्ष उहाँ आफै नेपाली काँग्रेसको सबभन्दा बलियो ठानिएको काठमाडाैँको क्षेत्र नम्बर एकबाट चुनाव हार्नुभयो ।
त्यसले पार्टीभित्र र बाहिर सबैतिर अचम्मको कोलाहल मच्चायो । काँग्रेसकै एउटा पक्ष उहाँलाई हराउन मज्जाले लागेको कुरा छरप्रष्टै थियो । त्यसपछि स्वयम् गणेशमानजीले किशुनजीलाई हराउन लाग्ने पार्टीका जो कोहीलाई पनि अनुशासनको कारवाही गर्नुपर्छ भनेर पार्टीको बैठकमा आवाज उठाउनुभयो । तर, किशुनजीको उत्तरले सबैलाई आश्चर्यचकित पारेको थियो ।
उहाँले भन्नभएको थियो, ‘चुनाव हार्नु मेरो कमजोरी हो, हाम्रै पार्टीका साथीहरुले मलाई हराउन लाग्नुभएको थियो भने पनि त्यसको दोष पनि मेरै हो, उनीहरुलाई आवश्यक प्रशिक्षण र अनुशासन सिकाउन नसक्नु पनि मेरै कमजोरी हो । समग्र पार्टीलाई एकढिक्का बनाएर लान नसक्नुको जिम्मेवारी पनि पार्टी अध्यक्षको नाताले मैले नै लिनुपर्छ । त्यसैले नेपाली का“ग्रेसका नेता कार्यकर्तालाई कारवाई गरेर म मेरो पदीय जिम्मेवारीबाट उम्कन मिल्दैन, त्यसैले मेरो हारको सम्पूर्ण जिम्मेवारी पनि म आफैले नै लिन्छु ।’
किशुनजीसँगको मेरो संगत निरन्तर रुपमा लामो समयसम्म त भएन तर पनि २०४२ देखि २०६१ सम्म भेटघाट गर्ने अवसरहरु भने बाराम्बार जुटिरहे, उहाँ प्रधानमन्त्री भएको बेलाबाहेक । किनकि मन्त्री, प्रधानमन्त्रीलाई भेट्न गएर राष्ट्रनिर्वाण गर्ने उनीहरुको महत्वपूर्ण काममा डिस्टर्ब गर्नुहुँदैन भन्ने मेरो स्पष्ट मान्यता थियो । त्यसैले राजनीतिमा लागेर जति नै जेल, धरपकड, थुना पर्नेदेखि लिएर टाउको फुटाउने र ढाड खुस्कनेसम्मका शारीरिक यातना सहनु परे पनि कुनै पनि सरकारी पदमा आसीन नेताहरुको मन्त्रालय र निवासमा म कहिल्यै पनि गइन ।
तर जति समय किशुनजीस“ग सत्संग गर्ने मौका मिल्यो र जे जति कुराहरु सुन्ने मौका पाए ति कुराहरु अहिले सम्झिँदा मात्रै पनि म आफुलाई गौरवशाली महशुस गर्दछु । वहा“भित्र निहित अटल राष्ट्रिय भावनाका प्रति पार्टीका अग्रणी नेताहरु सान्दाजु(वीपी कोइराला), गणेशमानजी र सुवर्ण समशेरले पनि किशुनजीलाई सम्मान गर्थे ।
देशभित्रै बसेर संघर्ष गर्नुपर्छ र आफ्नो आदर्शका प्रति कहिल्यै पनि आत्मसमर्पण गर्नुहुँदैन भन्ने दह्रो विश्वासका कारण अरु नेताहरुभन्दा झन्डै दुई बर्ष बढी जेल जीवन बिताएको कुरा उहाँले सुनाउदा मलाई अचम्म लागेको थियो । कति नेताहरु पंचायती शासकहरुका अघिल्तिर बिन्तीपत्र हालेर जेलबाट छुटकारा लिदा पनि उहाँले त्यसो गर्न मान्नुभएनछ ।
उहाँले नै सुनाउनु भएअनुसार, बिन्तीपत्र नहाले पनि छाडिदिन्छौ तर बाहिर निस्केर केही नबोल्नुहोला भन्दा पनि उहाँ मान्नुभएन । ‘दश बर्ष त बसिसके अब मलाई के को हतार आत्मसम्मान बेची बेची जेलबाट छुट्नलाई ? जुनदिन मेरो नैतिकताको विजय हुनेछ त्यसदिन निस्कौला भनेर बसाैँ, त्यसकारण मैंले २० महिना ज्यादा जेल बस्नुप-यो ।’ यो कुरा हामीलाई सुनाइरहंदा वहा“को अनुहारमा कति ठूलो निष्ठा र आत्मसम्मानको इन्द्रेणी देखिएको थियो त्यसको एक प्रतिशत पनि चमक आजका राजा महाराजाहरुको अनुहारमा देख्न सकिंदैन ।
किशुनजी झन्डै १६ बर्ष पार्टी अध्यक्ष र दुई—दुई पटकसम्म देशको प्रधानमन्त्री भएको मान्छे । राजनैतिक तिकडम गर्न चाहेको भए बाँचुन्जेल देशको शक्तिशाली पदमा रहन सक्ने मान्छे भएर पनि शक्तिको लालसा कहिल्यै देखाउनुभएन । देशका लागी आफ्नो पुरै जीवन उत्सर्ग गरेको मान्छेले आफ्नो स्वार्थका लागि देशको सम्पतिको दुरुपयोग कहिल्यै पनि गर्नुभएन । प्रधानमन्त्रीबाट गलहत्याइ“दा पनि हाँसी-हाँसी प्रधानमन्त्री निबासबाट आफ्नो व्यक्तिगत सम्पतिको एउटा छाता, पानी खाने एउटा माटोको भाडा (सुराही) र एउटा टिनको बाकसमा आफ्ना लत्ताकपडा बोकेर निस्केको हामीहरु सबैले देखेकै हो ।
देख्नेहरुले भन्थे, किशुनजीले आफ्नो जुत्तामा पालिस पनि आफै लगाउने र आफ्ना कपडा पनि आफै धुनुहुन्थ्यो । सधैँ हाँसीमजाक गरिरहने अचम्मको रसिक मान्छे हुनुहुन्थ्यो उहाँ । सानो ठुलो केही भेद नगरी सबैसँग ठट्टा गर्ने अचम्मको सरल बानी थियो वहाँको । कहिल्यै उठ्न नसक्नेगरी अस्पतालको बेडमा परेको बेलामा पनि ऐया आत्थु नभनी डाक्टर नर्सहरुसँग रमाइलो र ठट्टा गर्नुहुन्थ्यो रे । “मेरो स्वास्थ्यको चिन्ता नगर्नुस, ढुक्कले आफ्नो कर्तब्य गर्नुहोला“ भन्ने कुरा सुन्दा डाक्टर नर्सहरुमा पनि कुनै भीआईपीलाई उपचार गर्ने बेलाको प्रेसर हुँदैनथ्यो । लोभ लालच र छलकपट नभएकै कारणले होला वहाँमा त्यसप्रकारको सरलपन आएको ।
आफ्नो बिरुद्धमा लेख्ने र बोल्नेलाई पनि वहा“ले सधै सम्मान गर्नुहुन्थ्यो । ‘प्रजातन्त्रप्रतिको मेरो लडाइँ नै यही बोल्न र लेख्न पाउने अधिकारका लागि हो । मेरो बिरोध गर्नेहरुको मुख नै थुन्न लगाए“ भने मेरो जीवनभरको लडाईं अरु कसैका लागि नभएर केवल मेरा लागि मात्रै रहेछ भन्ने बुझ्नुपर्छ । त्यसैले सबैले बोल्न पाउने अधिकारको रक्षा गर्नु मेरो नैतिक कर्तब्य हो ।
मैले लडेको र खोजेको प्रजातन्त्रको मूल सार नै यही हो’ भन्ने उहाँकाे दृढ भनाइ हुन्थ्यो । विरोध गर्ने र विरोधमा लेख्नेहरुलाई वर्षौं जेल हाल्ने कानून ल्याउने हालको नेपाल सरकारको नेतृत्वका लागि यस्ता नैतिकता र आदर्शका कुरा भालुलाई पुराणमात्र हुन सक्छन् । नैतिकताको खडेरी परेको आजको बिश्वब्यापी राजनीतिमा किशुनजीजस्ता निष्ठावान राजनेताको गुणलाई केहीमात्र भए पनि इमान्दारीपुर्वक लागु गर्न खोजे राजनैतिक अनुशासनहीनतामा देख्न सकिनेगरी सकारात्मक परिवर्तन आउने थियो कि ? निमुखा जनताको छातीमा सत्ता र शक्तिको बुट बजार्दै धन सम्पति र शक्ति आर्जनमा मरिमेटेर लाग्नेहरु माटोमा मिलिसक्दा पनि किशुनजीको त्याग, तपस्या, निष्ठा र सरलपन भने युगौ युग सम्म जीवित रहिरहनेछ । किशुनजी जस्तो नेताका गुणहरुलाई त्यसपछिका राजनैतिक नेतृत्वहरुले लागु गर्न नसक्नु नेपालको लागि ठूलो दुर्भाग्य हो ।
Facebook Comment