पर्यटक बढाउने दौडमा बाँके ‘राष्ट्रिय निकुञ्ज’
नेपालगञ्ज। मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा लागेको छ । गत आव ०७५/७६ मा यो निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक आएको तथ्याङ्कले देखाउँछ । त्यसमध्ये पनि विदेशी पर्यटकको सङ्ख्या आठमात्र रहेको छ । अन्य निकुञ्जका तुलनामा बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी आक्रामक रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले बताए ।
योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय–सुझाव लिने काम पनि गरिरहेको प्रमुख भट्टराईको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाढा पूर्व—पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकबाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घरवास (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ ।
आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ । गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि बाँके राष्ट्रिय निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ । यसैगरी, नेपाल भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिका–२२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रुपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनर्निर्माण भइरहेको नगरप्रमुख डा धवलशम्शेर राणाले बताए । विगतमा यो ताल पुरैना र पुरैनी तालको नामले चिनिन्थ्यो । नेपालगञ्जदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । कान्तिताल एउटा प्राकृतिक ताल हो । यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । २०३९ सालदेखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो ।
यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशकअघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । नगरप्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीय रुपमा विकसित गर्दै लगिएको बताए । पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् ।
नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयूर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चराहरु रहेका छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइने निर्णय गरेअनुरुप सोही अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले पनि यहाँका पर्यटकीयस्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगरप्रमुख राणाले बताए ।
उनका अनुसार, नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगञ्जकै कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । साथै नेपालगञ्ज फोहरमुक्त बनाउन प्लास्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको उनको भनाइ छ ।
Facebook Comment