सन्दकपुर क्षेत्रमा पुनः हिमपात
मंगलबारे। जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।
सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा, जौवारीलगायतका स्थानमा बाक्लो हिउँ झरेको स्थानीयवासी दिनेश ढकालले बताए । मौसममा अचानक परिवर्तन भएर हिमपात भएपछि किसानलाई समस्या भएको छ । तीन हजार ६३६ मिटर उचाइमा रहेको सन्दकपुर र आसपासमा हिउँ परेपछि मानिस मात्र होइन, पशु चौपायलाई समेत समस्या आएको उनले बताए । सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ ।
सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक सो क्षेत्रमा जान थालेका छन् । विशेषगरी भारतबाट बढी पर्यटक सो क्षेत्रमा आउने गर्दछन् । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ ।
उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ । तर खेती किसानी गर्नेलाई भने पानीले राहत दिलाएको छ । सडकमा भएको धुलो मरेर यात्रामा भने सहजता थपेको इलाम नगरपालिका–५ बरबोटेका हेमन्त गौतमले बताए । पानीले किसानले लगाएको अलैँची, आलुलगायत खाद्यान्न तथा नगदेबालीलाई भने राम्रो भएको छ ।
Facebook Comment