‘गल्ती देखे भन्नुस्, तपाईँलाई सलुट गरेर प्रहरीबाटै विदा हुन्छु’ – डिआइजी पोखरेल
काठमाडौं । तपाईंहरुको आँखाले म कही कुनै लोभलाभमा परेको देखे औंल्याउनुस् , तपाईंहरुलाई नै सलुट गरी बिदा हुन्छु, यो संगठनमा दाग लगाई बसिरहन्न। यो वाक्य महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले लागु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र टुडालदेवीले आज शनिबार टुडालदेवी मन्दिरमा आयोजना गरेको सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा स्वागत कार्यक्रममा उल्लेख गरेका हुन् ।
कार्यक्रममा भ्रष्टाचारमुक्त प्रहरी सेवा प्रति आफ्नो प्रतिबद्धता राख्दै पोखरेलले भने, म मेट्रो अन्तरगत हजारौंको आँखामा छु, तपाईंहरु मेरो प्रत्यक्ष अडिटमा हुनुहुन्छ । तपाईंहरुको आँखाले म कही कुनै लोभलाभमा परेको देखे औंल्याउनुस, तपाईंलाई नै सलुट गरी बिदा हुन्छु, यो संगठनमा दाग लगाई बसिरहन्न । तर यदी तपाईहरुले कानून हातमा लिई अराजक गर्न खोजे त्यस्ता कोही कसैलाई कुनैपनि हालतमा छाड्दिन ।
निडर साथै कडा स्वभावका पोखरेललाई करिव दुई महिना अघि सरकारले रानीपोखरी मेट्रो को प्रमुखमा ल्याएको हो । रानीपोखरी मेट्रो अन्तरगत काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको कमाण्ड पोखरेलले सम्हाल्दै छन् ।
उपत्यकाको कमाण्ड सम्हाले देखिनै आर्थिक अनियमितता, भ्रष्टाचारमुक्त प्रहरी सेवालाई पहिलो प्राथमिकता राखेका पोखरेलले प्रहरीले झुपडी र महलको सेवाग्राही आउँदा समान सेवा तथा व्यवहार गर्न मातहतका प्रहरीलाई निर्देशन दिए । उनले प्रहरीले दिने सेवा सबै तहका नागरिकका लागि समान हुनु पर्ने तर्क गरे । अलग अलग सेवा प्रवाह गर्दा कहिले पनि सुशासन कायम गर्न नसकिने विश्वास पोखरेलको रहेको छ ।
कार्यक्रममा उपस्थित स्थानीय नागरिकले उठाएको जिज्ञासाहरुको जवाफ दिदै पोखरेलले सुशासन कायम गर्ने बर्तमान सरकारको प्रतिबद्धतालाई सफल बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने बताए ।
प्रहरी संग भएको स्रोत साधन, जनशक्तिको आधारमा सुरक्षा प्रदान गर्न आम नागरिक संग समन्वय र सहकार्य गरे मात्र सुरक्षित समाज निर्माण गर्न सकिने उद्धेश्यका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीले लागु गरेको मेट्रो प्रमखु पोखरेलले बताए ।
पोखरेलले नागरीकले उठाएका जिज्ञासा, प्रश्हनरू र प्रहरी संगको अपेक्षा, प्रहरीमा आउने सुचना, गुनासालाई संकलित गरेर शान्ती सुरक्षामा नयाँ योजना ल्याउन लागिएको र केही योजनाहरू काठमाण्डौ उपत्यकामा लागु गरिसकिएको समेत बताए ।
प्रहरीको उपस्थितिले मात्र समाजमा शान्ती सुरक्षा कायम गर्न नसकिने त्यसको लागी सबैको इमान्दारीता चाहिने भन्दै अपराध नियन्त्रणको प्रमुख आधार सुचना भएकाले समयमै कुनै पनी घटनाको सुचना प्रहरीलाई दिन उनले सबैसँग आग्रह गरेका छन् ।
कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षक अचुत्य कृष्ण खरेल , पुर्व न्यायाधिस बुद्ध रत्न शाक्य, पुर्व अतिरीक्त महानिरीक्षकहरू, समाजसेवी, राजनीतिक दलका नेता तथा कार्यकताहरु, स्थानीय नागरीकहरूको उपस्थिति रहेको थियो ।
Facebook Comment