‘सुपरपावर’ अमेरिकालाई इरानसँग युद्ध जित्न किन सजिलो छैन ?
काठमाडौं। अमेरिकाले इरानका कुद्स सैनिक प्रमुख मेजर जनरल कासिम सुलेमानीलाई मारिदिएपछि संसारभर युद्धको खतरा व्याप्त भएको छ । इरानका सर्वोच्च नेता अयोतुल्लाह अली खमनेइपछि देशका सबैभन्दा शक्तिशाली व्यक्ति जनरल सुलेमानीको मृत्यु तेहरानको लागि ठूलो झट्का हो । इरानले जनरल सुलेमानीको हत्याको बदला लिने चेतावनी पनि दिइसकेको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बगदाद विमानस्थलमा गरिएको एयर स्ट्राइक कुनै युद्ध सुरु गर्न नभइ युद्ध रोक्न गरिएको भनेका छन् ।
यति हुँदाहुँदै पनि अमेरिकी सांसदसमेत संसारभरका विश्लेषकहरुले भने अमेरिकाले सुलेमानीको हत्या गरेर इरानँग युद्ध आफैंले सुरु गरेको बताएका छन् । अमेरिकाका पूर्व राजदूत ब्रेट म्याकगर्कले एक अन्तरवार्तामा अमेरिकाले आफू इरानसँग युद्धको चरणमा पुगिसकेको बुझ्नुपर्ने बताएका थिए । अमेरिका र इरानबीच तनाव कुनै नयाँ कुरा होइन तर इरानका सबैभन्दा अहम मेजर जनरलको हत्यापछि मध्यपूर्वमा एक नयाँ संघर्षको सुरुवात भइरहेको देखिएको छ । आक्रमणको आशंकापछि अमेरिकाले शुक्रबार नै मध्यपूर्वमा ३ हजार सैनिक पठाउने घोषणा गरिसकेको छ । उसले यहाँ यसअघि नै १४ हजार सैनिक तैनाथ राखिरहेको छ ।
अमेरिका र इरानको तनावले २००३ मा अमेरिकाले इराकमाथि गरेको आक्रमणको याद दिलाएको छ । तर, इरानमाथि आक्रमण गर्नु अमेरिकाको लागि त्यतिबेला इराकमा आक्रमण गर्नु जत्तिको सजिलो हुने छैन । विश्लेषकहरुका अनुसार यस पटक संघर्ष कैयौं तरिकाले फरक छ र यो पहिलेभन्दा धेरै खतरनाक हुन सक्छ । २००३ को इराकको तुलनामा इरान धेरै शक्तिशाली देश हो । इरान आफ्नो युद्ध लड्ने तरिकाबाट अमेरिकालाई घुँडा टेकाउने हिम्मत राख्छ । इराकको तुलनामा इरान धेरै ठूलो देश हो ।
२००३ मा अमेरिकी आक्रमणको क्रममा इराकको जनसंख्या २.५ करोड थियो जबकि अहिले इरानको जनसंख्या ८.२ करोड छ । इरानको क्षेत्रफल पनि इराकको तुलनामा करिब ४ गुणा ठूलो छ । एक अनुमानका अनुसार आक्रमण हुनुभन्दा अघि इराकी सेनामा ४ लाख ५० हजार जवान थिए । हालैको सर्वेका अनुसार इरानसँग ५ लाख २३ हजार सक्रिय सैनिक र २ लाख ५० हजार रिजर्भ सैनिक छन् । इरानको भौगोलिक स्थिति पनि विशेष छ । इराकभन्दा फरक इरान समुद्री महाशक्ति हो । इरानको उत्तरमा क्यास्पियन सागर र दक्षिणमा फारसको खाडी, ओमनको खाडी छ । यसको सीमा अफगानिस्तान, पाकिस्तान, टर्की र इराकसँग जोडिएको छ ।
युद्धको स्थितिमा इरानले आफ्नो भौगोलिक स्थितिको फाइदा उठाउनेछ भन्ने सामान्य तरिकाले पनि बुझ्न सकिन्छ । इरान युरेशियाको केन्द्रमा छ र व्यापारको लागि पनि निकै अहम छ । इरान र ओमानले घेरेको होर्मुज स्ट्रेट हुँदै संसारका एक तिहाइ तेल ट्यांकर ओहोरदोहोर गर्छन् । यो बाटोको सबैभन्दा साँघुरो विन्दू केवल २ माइल फराकिलो छ । यदि इरानले यसलाई रोकिदियो भने विश्वको तेल निर्यातमा ३० प्रतिशत कमी आउनेछ ।
त्यसो त परम्परागत सैन्य क्षमतामा इरान अमेरिकाभन्दा धेरै कमजोर देखिन्छ तर इरानले कैयौं यस्ता खतरनाक रणनीति बनाएको छ जसबाट उसले मध्यपूर्वमा अमेरिकी हितलाई गम्भीर क्षति पुर्याउन सक्छ । इरानका सर्वोच्च नेता अयोतुल्लाह अली खमेनइको वफादार र नियमित सेनाभन्दा फरक रिभोल्युशनरी गार्ड कर्प्सका अलावा इरानसँग कुद्ज सेना पनि छ जसले इराक, लेबनान र सिरियामा प्रोक्सी सेना खडा गर्न सहयोग गर्छ । उसले यी सबै प्रोक्सी सेनालाई फण्डिङ पनि गर्छ ।
इरानको रिभोल्युशनरी गार्डलाई उसको मुख्य सेना भन्दा पनि शक्तिशाली मानिन्छ । इरानले यसअघि पनि यस्ता संगठनको प्रयोग अमेरिकीहरुलाई निशाना बनाउन गरिसकेको छ । यसवर्ष पेन्टागनको अनुमान अनुसार इरानको प्रोक्सी फोर्सले २००३ देखि २०११ को बीचमा इराकमा करिब ६०८ अमेरिकी सैनिकलाई मारिसकेको छ । इरानको प्रोक्सी फोर्स इराक र अफगानिस्तानमा फेरि उथलपुथल मच्चाउन सक्छ ।
इरानको नौसेना (जलसेना) पनि अमेरिकाभन्दा फाइदाको स्थितिमा छ । इरानको नौसेनालाई होर्मुज खाडी बन्द गर्न ठूलो जहाज वा फायरपावरको आवश्यकता पर्दैन । व्यापारमा नोक्सान पुर्याउन उसले पनडुब्बीबाटै काम चलाउन सक्छ । यस्तो आशंकासमेत गरिएको छ कि इरान स्पिडबोड सुसाइड आक्रमण र मिसाइलको माध्यमबाट अमेरिकी सेनालाई नराम्ररी घुँडा टेकाउन सक्छ ।
२०१७ को अफिस अफ नेवल इन्टेलिजेन्सको रिपोर्ट अनुसार रिभोल्युसनरी गार्डको नौसेना हतियारले सुसज्जित साना र तीव्र गति भएका समुद्री जहाजलाई धेरै प्राथमिकता दिन्छ र फारसको खाडीमा उसलाई धेरै जिम्मेवारी दिइएको छ । यसपछि इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम छ जसलाई मध्यपूर्वमा मिसाइलको भण्डारको संज्ञा दिइन्छ । इरानको मिसाइलको खतरा उसको क्षेत्रबाट बाहिरसम्म छ । लेबनानमा आधारित प्रोक्सी समूह हेजोबुल्लाहसँग १ लाख ३० हजार रकेटको भण्डार छ ।
इराकमा जतिबेला अमेरिकाले आक्रमण गरेको थियो त्यतिबेला अमेरिकी सेनाको संख्या १ लाख ५० हजार थियो जसमा सहयोगी देशका सेना पनि सामेल थिए । इराकमाथि आक्रमणको आर्थिक मूल्य २ ट्रिलियन डलर अनुमान गरिएको थियो । यो आक्रमणमा २००३ देखि २०११ को बीचमा करिब ४ लाख जना मारिएका थिए । इरानविरुद्ध सैन्य योजना बनाउने अमेरिकी अधिकारी यी सबै पक्षहरुलाई राम्रोसँग बुझेका छन् ।
यद्यपि अमेरिका यो भन्नबाट बच्छ कि इरानविरुद्ध सैन्य संघर्ष उचित विकल्प होइन किनकि अमेरिकाले यसो भनेमा तेहरानमाथि दबाब कम हुन्छ । यदि अमेरिका र इरानबीच जारी संघर्षले युद्धको रुप लियो भने यो केवल २ देशको बीचमा सीमित रहने छैन । मध्यपूर्वमा इरानका दुश्मन साउदी अरब र इजरायल पनि अमेरिकाको साथमा युद्धमा होमिनेछन् । अर्कोतर्फ इरानको साथमा सिरिया, यमन, लेबनान लगायतका उसका मित्र देशहरु पनि युद्धमा होमिनेछन् । अमेरिकाको इरानविरुद्ध सैन्य संघर्ष निकै खतरनाक रणनीति साबित हुन सक्छ र यही कारण हो कि तमाम अमेरिकी विश्लेषकहरुसमेत पूरै विश्व युद्धको आशंकाले चिन्तित छ ।
Facebook Comment