अमेरिका–इरान तनावले विश्व हल्लिएका बेला बेलायती प्रधानमन्त्री ‘बेपत्ता’ !

डिसी नेपाल
२० पुष २०७६ १०:४५

काठमाडौं। अमेरिकाले इरानी सेनाका कमाण्डर कासिम सुलेमानीलाई मारिदिएपछि मध्यपूर्वमा तनाव चर्किएका बेला बेलायती प्रधानमन्त्री बोरिस जोनसन ‘बेपत्ता’ भएको भन्दै चर्को आलोचना भएको छ । विदा मनाउन क्यारेबियन गएका प्रधानमन्त्री जोनसनले विदा छोट्याएर मध्यपूर्व तनावबारे छलफलका लागि फर्किन अस्वीकार गरेपछि उनको चर्को आलोचना भएको हो । अमेरिकाले इरानका सैनिक कमाण्डरलाई मारिदिएको तीन दिन बितिसक्दा समेत प्रधानमन्त्री जोनसनले यसबारे आफ्नो धारण अझै सार्वजनिक गरेका छैनन् ।

बेलायतको विपक्षी दलका नेता जेरेमी कर्बिनले प्रधानमन्त्रीलाई यो आक्रमणले बेलायतमा पर्ने प्रभावबारे छलफल गर्न प्रिभी काउन्सिलको बैठक बोलाउन आग्रह गर्दै औपचारिक पत्र नै लेखेको बेलायती मिडिया मेट्रोले लेखेको छ । समाचारमा जनाइएअनुसार आइतबार तेहरानको सडकमा सुलेमानीप्रति श्रद्धाञ्जली दिन उत्रिएका हजारौंले अमेरिकी झण्डासँगै बेलायती झण्डा समेत जलाएका छन् । इरानबाट सम्भावित आक्रमणको आशंकापछि बेलायती सैन्य अड्डाहरु पनि उच्च सतर्कताको स्थितिमा छन् । तर, विपक्षी नेताको औपचारिक पत्रपछि पनि प्रधानमन्त्रीले यो विषयलाई सुनेको नसुन्यै गरेपछि सामाजिक संजालमा ‘ह्वेरइजबोरिस’ (बोरिस कहाँ छन् ?) ह्याशट्याग ट्रेण्ड गरिरहेको छ ।

मध्यपूर्वमा तनाव बढिरहेका बेला प्रधानमन्त्री जोनसनले संसारको सबैभन्दा विलासी विदा मनाइरहेको भन्दै बेलायती मिडियामा आलोचना समेत भइरहेको छ । प्रधानमन्त्री जोनसनले गर्लफ्रेण्ड क्यारी सिमोन्ड्ससँग शाही परिवारले मन पराउने बारमा मस्ती गरिरहेको र हप्ताको २० हजार पाउण्ड (३० लाख नेपाली रुपैयाँ) पर्ने विलामा विदा मनाइरहेको बेलायती मिडियाले लेखेका छन् । प्रधानमन्त्रीमाथि यस विषयमा अगाडि आउन दबाब बढेसँगै ट्रपीटरमा ह्वेरइजबोरिस ह्याशट्याग टप ट्रेण्डिङमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *