मलेसियन कम्पनी डब्लुआरपीले ५७ नेपाली कामदारलाई नेपाल डिपोर्ट गर्दै
काठमाडौं। गलत व्यवस्थापनका कारण करिब २ हजार नेपाली कामदारको श्रम शोषण गरेको, गलत समयमा काममा लगाएको जस्ता आरोप लागेपछि बन्द भएको मलेसियाको पञ्जा उत्पादक कम्पनी डब्लुआरपीले ५७ जना नेपाली कामदारलाई नेपाल डिपोर्ट गर्ने भएको छ । मलेसियाली मिडिया मलेसियाकिनीले ती कामदारलाई तीन चरणमा नेपाल पठाइन लागेको खुलासा गरेको छ ।
ती कामदारहरुलाई पहिलो चरणमा भोलि जनवरी ६, दोस्रो चरण जनवरी ८ जनवरी र तेस्रो तथा अन्तिम चरणमा जनवरी १३ मा गरी तीन चरणमा सबै ५७ जना नेपालीलाई डिपोर्ट गर्न लागिएको हो । यो कम्पनीले कामदारको श्रम शोषण गरेको आरोप लागेपछि यसको उत्पादन अमेरिका निर्यात गर्न प्रतिबन्ध लगाइएको थियो । अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन एजेन्सीले यो कम्पनीको उत्पादनमाथि प्रतिबन्ध लगाएपछि कम्पनी टाट पल्टिएको थियो ।
कम्पनीले ५७ जना कामदारलाई नेपाल डिपोर्ट गर्ने तयारी गरेको भए पनि ती कामदार भने मलेसियास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छैनन् । ती कामदारहरुको नेपालमा गरिने श्रमिक बीमाको म्याद सकिइसकेको छ । नेपालबाट ३ वर्षको बीमा गरेर गएका उनीहरुको मलेसिया बसाइको अवधि ८–९ वर्ष पुगिसकेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसीनेपाललाई बताए ।
कम्पनीले ती कामदारलाई नेपाल डिपोर्ट गर्न लागेको भए पनि उनीहरु नेपाल फर्कन चाहिरहेका छैनन् । उनीहरुले त्यहीँ बसेर काम गर्न चाहेका छन् । तर कम्पनीले उनीहरुको भिसा थप गरेको छैन । उनीहरुको भिसा यही महिनाको अन्त्यमा सकिँदैछ । यो कम्पनीमा २ हजार नेपाली कामदार छन् । तीमध्ये ५७ जनालाई मात्र नेपाल डिपोर्ट गर्न लागिएको हो ।
गत वर्षको जनवरी महिनामा डब्लुआरपी एसियाले करिब दुई हजार नेपाली कामदारलाई तीन महिनाको तलब नदिएको दुखेसो पोख्दै कामदारले तीन दिनसम्म हडताल गरेका थिए । मलेसियाको श्रम विभागले यस कम्पनीले कामदारहरुको श्रम शोषण गरे नगरेको बारेमा अनुसन्धान समेत गरेको थियो । जसमा कम्पनीले कामदारहरुलाई तलब नदिएको, ओभर टाइम बापत पाउनुपर्ने पैसा नदिएको, कर्मचारीहरुले खाइपाई आएको सेवासुविधा कटौती गरेको तथा सार्वजनिक विदा लगायत अन्य विदाको दिनमा समेत काम गर्न बाध्य पारेको प्रतिवेदन मलेसियन श्रम मन्त्रालयलाई बुझाएको थियो ।
Facebook Comment