जिप्रका काठमाडौंको आदेशः १२२ चिनियाँ नागरिकलाई एक–एक हजार जरिवाना
काठमाडौं। प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट यही पुस ७ गते पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालयले जनही एक एक हजार जरिवाना गरेको छ। उनीहरु एक एक हजार रुपैयाँ जरिमाना तिरेर आइतबार थुनामुक्त भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अभद्र व्यवहार गरेको कसुरमा सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो।
ती चिनियाँ नागरिकले कसूर स्वीकार गरेकाले सरकारी वकिलको रायअनुसार एक हजार रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले निर्णय गरेको हो।
अब उनीहरुलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ।
उनीहरु पर्यटन भिषामा नेपाल आएर गैरकानूनी रुपमा काम गरेको र कतिपयसँग पासपोर्ट समेत नरहेकाले अनुसन्धानका लागि अध्यागमनमा बुझाइने महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको संयुक्त टोलीले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो।
Facebook Comment