नेविसंघमा ३२ वर्ष उमेरहद भएको विधान नै लागू हुनुपर्छ : कुन्दन काफ्ले

डिसी नेपाल
२१ पुष २०७६ १४:०७

काठमाडौं। भातृ संस्था नेविसंघको नयाँ नेतृत्वका विषयमा नेपाली कांग्रेस भित्र तीव्र मतभेद भइरहेको बेला संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सोमबार एक अपील जारी गर्दै संघको ३२ वर्ष उमेरहद भएको विधान नै लागू हुनुपर्ने माग गरेका छन्।

पार्टीको पछिल्लो विवादका बारेमा छलफल गर्न विभिन्न गुट, उपगुट आबद्ध जिल्ला सभापतिहरु पार्टी कार्यालयमा भेला भइरहँदा काफ्लले यस्तो अपील जारी गरेका हुन्।

‘११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित संघको नेतृत्वलाई भङ्ग गरी विधान विपरीत नेतृत्व थोपर्ने चर्चाले विद्यार्थी समूदायको भविष्य र सिङ्गो विद्यार्थी आन्दोलनमाथि आघात पुग्ने कुराप्रति हामी सचेत भएका छौँ,’ काफ्लेको अपीलमा लेखिएको छ।

पार्टी स्वयंले जारी गरेको संघको विधानलाई आफैले कुल्चेर हुकुमी शैलीमा मनपरी गर्ने क्रियाकलापको विरोधमा संघका साथीहरूले निरन्तर आन्तरिक सङ्घर्ष सञ्चालन गरिरहने क्रममा पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन मार्फत शान्तिपूर्ण दवाव दिइरहेको काफ्लेले जानकारी दिएका छन्।

लोकतान्त्रिक मूल्य, आदर्श र विधिको शासनका लागि संघका साथीहरू विगतदेखि नै नियमित महाधिवेशन लगायत आन्तरिक लोकतन्त्रका पक्षमा बुलन्द आवाज उठाउँदै आएको काफ्लेले बताउँछन्। एकातिर कम्युनिष्ट सर्वसत्तावादले सिङ्गो मुलुक नै थिलोथिलो भइरहँदा संघको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमाथि निरन्तर प्रहार काफ्लेको भनाइ छ।

‘यस अवस्थामा सरकार विरोधी सङ्घर्षका अभियान सशक्त रूपमा सञ्चालन गर्नु पर्ने अवस्थामा पार्टी नेतृत्व स्वयंले विधान विपरीत अराजक शैलीमा एकोहोरो बलमिच्याईं गरेर नेपाली काङ्ग्रेसलाई शक्तिहीन बनाउन खोज्नुले पार्टी र लोकतन्त्रको हित गर्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ अपिलमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *