काँग्रेस विवादः पौडेललाई विधानअनुसार सहमति गर्न जिल्ला सभापतिहरुको सुझाव

डिसी नेपाल
२१ पुष २०७६ १८:११

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्र विवाद चर्किरहेका बेला सोमबार राजधानी काठमाडौंमा दउवा इतर समूहका जिल्ला सभापतिहरुको भेला भएको छ।
पार्टी कार्यालय सानेपामा सोमबार देशभरका ४६ जिल्लाका सभापतिहरुको भेला भएको दैलेख सभापति कृष्णकुमार विसीले जानकारी दिए। उनले मंगलबार थप ४ जिल्लाका सभापतिहरु पनि भेलामा सहभागी हुने बताए।

सभापति विसीका अनुसार भेलाको पहिलो दिन १४ जना सभापतिहरुले आफ्नो धारणा राखेका छन्। भेलामा बोल्ने जिल्लासभापतिहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवासँग विधानअनुसार काम गर्ने आधारमा सहमति गरेर अगाडि बढ्न सुझाव दिएका छन्। उनले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने सबै सभापतिहरु एकमत रहेको बताए।

सोमबार झापा, कास्की, रोल्पा, बर्दियालगायतका जिल्लासभापतिहरुले आफ्नो धारणा राखेका थिए। दैलेख सभापति विसीले डिसी नेपालसँग भने, ‘आज बोल्ने सभापतिहरुको जोड पार्टी मिलेरै जानुपर्छ भन्ने रह्यो। वरिष्ठ नेतालाई पार्टीको विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने आधारमा सहमति गर्न सुझाव दिएका छन्।’

पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा पौडेल–सिटौला समूहको बहिस्कारका बावजुद पार्टीको आगामी महाधिवेशनको मिति तोकेका छन्। र पार्टीका विभागहरु पनि संख्या बढाएका छन्। यसपछि देउवा र उनीइतर समूहबीच वार्तासमेत भएको छैन।

पौडेल समूहले सभापति देउवाको ‘ज्यादती’बारे जिल्ला सभापतिहरुसँग सुझाव लिने र सोही सुझावका आधारमा आगामी कार्यदिशा बनाउने भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएको हो। पौडेल समूहको भेलामा बहुमत जिल्ला सभापतिहरुको सभागिता देखिएपछि सभापति देउवालाई दबाब पर्ने एक नेताले बताएका छन्।

स्रोतका अनुसार भेलामा प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशबाट कमउपस्थिति छ। यस्तै ललितपुर, भक्तपुरm दोलखा र रसुवाका सभापति पनि यो भेलामा सहभागी छैनन्। भेलामा नेता कृष्ण सिटौला आफु उपस्थित नभए पनि उनी निकट मानिएका गगन थापा भने सहभागी थिए। सिटौला मंगलबार भेलामा सहभागी हुने स्रोतले जनायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *