प्राचीन ग्रन्थ विश्व सम्पदामा दर्ताको पहल गराउन माग
काठमाडौं । प्राचीनकालमा नेपालमा लेखिएका कम्तीमा १ सय भन्दाबढी ग्रन्थ विश्व सम्पदाको ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता हुनसक्ने स्तरका भए पनि पहल हुन नसकेकामा विज्ञले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय अभिलेखालयले सोमबार आयोजना गरेको ‘निश्वासतत्वसंहिता र प्राचीन शैव परम्परा’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस विषयमा जोड दिए । नेपालका हालसम्म दुई ग्रन्थ ‘निश्वासतत्वसंहिता’ र ‘सुश्रुतसंहिता’ मात्र ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता भएको छ ।
यी दुई ग्रन्थ पनि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को पहलमा दर्ता हुनसकेको अभिलेखालयका पूर्वप्रमुख प्रकाश दर्नालले सुनाए । सन् २०१३ जुनमा दुवै ग्रन्थ एकैपटक विश्व सम्पदामा दर्ता भएको अभिलेखालयले जनाएको छ ।
कार्यक्रममा ‘निश्वासतत्वसंहिता’ लाई ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता गराउन लाग्नुभएका डा.निराजन काफ्लेले नेपालमा प्राचीनकालमा लेखिएको मूलप्रतिको रामायण, महाभारत लगायत कम्तीमा पनि १ सय भन्दाबढी ग्रन्थ दर्ता हुनसक्ने खालका भए पनि कसैले पहल नगरेको जानकारी गराए।
‘निश्वासतत्वसंहिता’ मै आधारित भएर ‘निश्वासमुखको समीक्षात्मक र ऐतिहासिक अध्ययन’ विषयमा नेदरल्याण्डको युनिभर्सिटी अफ लाइडेनबाट विद्यावारिधि उपाधि हासिल गरेका उनले नेपालमा रचना भई हाल अभिलेखालयमा सुरक्षित रहेका यी ग्रन्थलाई ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता गराउन लाग्नुपर्ने बताए ।
सो अवसरमा अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्ग र शाखा प्रमुख कुमार श्रेष्ठले विसं २०७१ पछि सर्वोच्च अदालतलाई अभिलेखालयका ऐतिहासिक एवं पुरातात्विक सामग्री राखिएको भवन छोड्न पत्राचार गरिरहेकाले आतङ्कित भई अन्य काममा ध्यान नसकिएको बताए ।
विसं २०७१ मा मन्त्रिपरिषद्ले निर्णय गरी अभिलेखालयको भवन सर्वोच्च अदालतलाई दिने निर्णय गरेको थियो ।
Facebook Comment