मध्यपूर्व तनावबारे अन्तर्राष्ट्रिय समूदायको चिन्ता

डिसी नेपाल
२१ पुष २०७६ २३:४०

टोकियो (रासस/एएफपी) । अमेरिकाले एकजना इरानी उच्च सैन्य अधिकारीको हत्या गरेपछि मध्यपूर्वमा बढेको तनाबारे अन्तर्राष्ट्रिय समूदायले चिन्ता प्रकट गरेका छन् । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताएका छन् । वाशिङ्टन र तेहरानबीचको सम्बन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रूपमा प्रयास गरिरहेका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गरेका हुन् ।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशङ्का गरिएको छ । “मध्यपूर्वमा तनाव बढीरहेको छ, मलाई यसले गहिरो चिन्तामा पारेको छ,” इरानी कमाण्डर सुलेमानी इराकमा मारिएपछिको पहिलो प्रतिक्रियामा आबेले भने । उनले तनाव न्यूनीकरण गर्न आफ्नो तर्फबाट कूटनीतिक पहल गरिरहने पनि बताएका छन् । टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्बन्धलाई सन्तुलित अवस्थामा राखेका छन् । तेहरानसँगको आणविक सम्झौता रद्द गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गरेका थिए ।

यस्तै समाचार एजेन्सी सिन्ह्वाका अनुसार भारतका विदेशमन्त्री एस जयशंकरले खाडी क्षेत्रमा हालै शुरु भएको खाडी क्षेत्रको तनावका विषयलाई लिएर अमेरिकालगायतका आफ्ना केही देशका समकक्षीसँग वार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, संयुक्त अरब इमिरेट्स (यूएई) का शेख अब्दुल्लाह बिन जायद अल नयन र ओमानका परराष्ट्र मन्त्री युशुफ बिन अलादी बिन अब्दुल्लाहसँग आइतबार फोनवार्ता गरेको जनाइएको छ । उनले आइतबार राति पछिल्लो समयमा खाडी मुलुकमा विकास भएको अवस्थालाई लिएर अमेरिका, यूएई र ओमनका विदेशमन्त्रीहरूसँग फोनवार्ता भएको कुरा आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका छन् । पछिल्लो समयमा अमेरिका र इरानबीच तनाव बढेको छ । यस विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा उनीहरूबीच फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

उनले यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद र ओमानका परराष्ट्रमन्त्री युशुफ बिन अलावी बिन अब्दुल्लाहसँग इरानमा विकसित परिस्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गरेको जानकारी गराएका छन् । वार्ताका क्रममा खाडी क्षेत्रमा विकसित घटनाक्रमका बारेमा आ–आफ्ना धारणा आदानप्रदान भएको जानकारी गराएका छन् । त्यसक्रममा विदेशमन्त्री जयशंकरले खाडी क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षाका विषयमा भारतको चासो रहेको उनीहरूलाई बताएका थिए । यसअघि विदेशमन्त्री जयशंकरले इरानी समकक्ष मोहम्मद जावेद जरीफसँग पनि फोनवार्ता गरी खाडीमा व्याप्त तनावको अवस्थालाई कम गर्न इरानले मुख्य भूमिका खेल्न सक्ने बताएका छन् ।

उत्तेजक नहुन र संयमता अपनाउन विभिन्न देशले इरानलाई आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले पनि आलोचना गरेका छन् । तर युरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *