प्रहरीमा समानताको नयाँ अभियान, अधिकृतले जवानको मेसमा खाना खानुपर्ने
काठमाडौं । कानुन कार्यान्वयनमा निर्दयी र बोली बचन व्यवहारमा शिष्टता प्रहरीले अपनाउनुपर्ने कार्यहरु मध्ये प्राथमिकतामा राखेर काम गर्न मातहतका प्रहरी तथा कर्मचारीलाई निर्देशन दिदै आएका काठमाडौं मेट्रो प्रमुख विश्वराज पोखरेलले प्रहरी अधिकृतहरुले जवान तथा हवल्दारको मेसमा खाना खान नयाँ निर्देशन जारी गरेका छन् ।
नेपाल प्रहरीमा अधिकृत र तल्लो तहका कर्मचारी बीच भेदभाव हुने गरेको गुनासो आइरहेका बेला पोखरेलले आफ्ना मातहतका प्रहरी अधिकृतहरुलाई जवान तथा हवलदारहरुले खाना खाने मेसमा कस्तो खाना पाक्छ र त्यस्तो खाना सबै प्रहरी कर्मचारीले खान लायक छ कि छैन भन्ने जानकारी लिन यो निर्देशन जारी गरेको डिसीनेपाललाई बताए ।
डिसीनेपालसँगको विशेष कुराकानीको सन्दर्भमा मेट्रो प्रमुख पोखरेलले भने, भोलि बुधबार बिहान सबै प्रहरी अधिकृतहरुले रानीपोखरीस्थित मेट्रोको मेसमा म लगायत यहाँ कार्यरत सबै प्रहरी अधिकृतले खाना खान्छौं । जवान र हवलदारले खाने मेस, खान पकाउने पानी, भाँडाकुडा, बस्ने मेच लगायत सबै को निरीक्षण हुन्छ । र, आवश्यक सुधार कसरी गर्न सकिन्छ पहिल्याउँछु ।
नागरिकलाई गर्ने व्यवहारमा नम्रता, शिष्टता र कानून प्रयोगमा निर्दयिता अपनाई अपराध गर्नेलाई बिना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्ने अठोटका साथ नागरिकको शान्तिसुरक्षाको जिम्मेवारी बोकेको प्रहरीले पहिले आफ्नै कार्यक्षेत्र भित्रका कर्मचारी बीच कुनै पनि भेदभाव हुननहुने बताउँदै उनले प्रत्येक दिन साँझ काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका सिनियर अधिकृतहरूले जवान तथा हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान हवल्दारको व्यारेकमा सुती देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजान पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिएका छन् । रानीपोखरी मेट्रोले काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाको नेतृत्व गर्छ ।
Facebook Comment