काँग्रेस विवादः मिल्न दुवै समूहलाई दबाब

डिसी नेपाल
२३ पुष २०७६ ९:०९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्र चुलिएको विवाद मिलाउन दुवै समूह दबाबमा परेका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल–कृष्ण सिटौला समूबीच देखिएको विवादले उग्र रुप लिएपछि देउवा इतर समूहले जिल्ला सभापतिहरुको भेला काठमाडौंमा गरिरहेको छ।

देउवा इतर समूहका जिल्ला सभापतिहरुको भेलामा करिब ४६ जिल्ला सभापति सहभागी बनेपछि सभापति देउवा समूहले दबाब महशुस गरेको छ भने सभापतिहरुले जसरी पनि मिलेर जान भनेपछि पौडेल–सिटौला समूह पनि दबाबमा परेको छ।

पौडेल निकट मानिएका केन्द्रीय सदस्य हृदयराम थानीले डिसी नेपालसँग भने, ‘दुबै पक्षलाई विवाद मिलाउन दबाब छ। जिल्ला सभापतिहरुको भनाई मिलेर जानुपर्छ भन्ने छ।’

७७ जिल्ला मध्ये ४६ जिल्ला सभापतिहरु पौडेल समूहले बोलाएको भेलामा आएपछि सभापतिलाई पनि दबाब परेको एक देउवा निकट नेताले डिसी नेपाललाई बताए। उनले भने, ‘पार्टी मिलेरै जानुपर्छ भन्ने हो। अब वार्ता होला, कुरा होला, हामी एउटै पार्टी त हौं।’

उता अन्नपूर्ण पोस्टसँगको वार्तामा पनि देउवा निकट मानिएका केन्द्रीय सदस्य नारायणप्रका साउद (एनपी)ले सभापति देउवा बहुमतका आधारमा काँग्रेसले निर्णय गरेको आगामी महाधिवेशनको कार्यतालिकाबारेको निर्णय परिमार्जन गर्न तयार रहेको बताएका छन्।

पौडेल–सिटौला समूहले बहिस्कार गरेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन, पार्टीका विभाग थप्ने र तरुण दलको म्याद थप्ने निर्णय गरेको थियो। यो निर्णयपछि विवादित पक्षबीच वार्ता भएको छैन।

केन्द्रीय सदस्य थानीले भने, ‘वार्ताका लागि साउद (एनपी)जीले पहल गर्नु भएको हो। सभापतिलाई र पौडेललाई उहाँले भेट्नु भएको हो। सभापति वार्ताका लागि तयार रहेको भन्दै जिल्ला सभापतिहरुको भेला रोक्न भन्नु भएको थियो।’

तर, वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुको भेला परामर्शका लागि आयोजना गरिएको भन्दै भेला रोक्न मानेनन्। जिल्ला सभापतिहरुको भेला जारी भएपछि दुबै समूहबीच वार्ताका लागि पहल नभएको नेता थानीले जानकारी दिए।

जिल्ला सभापतिहरुको भनाई के छ? भन्ने प्रश्नमा थानीले भने, ‘उहाँहरुको भनाई मिलेर जानुपर्छ। विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने हो। उहाँहरुका आफ्नै गुनासाहरुमा पनि छन्। महासमिति बैठकले दिएको सुझावअनुसार विधान नबनाइएको उहाँहरुको गुनासो छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *