मध्यपूर्वमा तनावका बेला रुसी राष्ट्रपति पुटिन किन गए अचानक सिरिया भ्रमणमा ?
![मध्यपूर्वमा तनावका बेला रुसी राष्ट्रपति पुटिन किन गए अचानक सिरिया भ्रमणमा ?](https://www.dcnepal.com/wp-content/uploads/2020/01/6e1f9V5qSfzp6r5Qp4FjLHAFIi1juj9o.jpg)
काठमाडौं। अमेरिका र इरानबीच तनाब बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अचानक सिरिया पुगेका छन् । पुटिनले सिरिया पुगेर त्यहाँका राष्ट्रपति बसर अल असदसँग छलफल गरेका छन् । असद र इरानको सम्बन्ध राम्रो छ । सिरियामा गृहयुद्ध चर्किएका बेला असद हारको संघारमा पुगेका बेला मेजर जनरल कासिम सुलेमानी नेतृत्वको इरानको कुद्स फोर्सले नै विद्रोहीहरुलाई दबाउन असदलाई सहयोग गरेको थियो ।
रुसी राष्ट्रपति पुटिनको यो पहिलो दमास्कस यात्रा र दोस्रो आधिकारिक सिरिया यात्रा हो । ९ वर्षदेखि सिरियामा गृहयुद्ध जारी छ । रुसले पनि सिरियामा असद सरकारलाई सहयोग गर्छ । असद सरकारलाई सहयोग गर्न रुसी सेना २०१५ मा सिरिया युद्धमा सहभागी भएको थियो । अहिलेको छलफलमा दुवै देशका राष्ट्रप्रमुखसमक्ष रुसी सेनाका कमाण्डरले सैन्य तयारीबारे बताएका थिए ।
सिरियाली राष्ट्रपतिले पुटिनसँग हात मिलाएको तस्वीर सार्वजनिक गर्दै आतंकवादविरुद्धको लडाइँ र सिरियामा शान्तिपूर्ण जीवनको बहालीमा रुस र रुसी सेनाको सहयोगको लागि धन्यवाद दिए । पुटिनका प्रवक्ता दिमित्री पेसकोभले बताएअनुसार पुटिनले सिरियालीलाई राष्ट्रको दर्जा र देशको क्षेत्री अखण्डतालाई बहाल गर्ने काममा लामो दूरी पार गरिएको बताएका थिए ।
Facebook Comment