इरान–अमेरिका तनाव : कच्चा तेलको मूल्यमा वृद्धि, हवाईमार्ग परिवर्तन

डिसी नेपाल
२३ पुष २०७६ १६:४१

बीबीसी । इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। एशियाली कारोबारको मध्यमा ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा १.४ प्रतिशतले वृद्धि भइ प्रति ब्यारेल ६९.२१ डलर पुगेको छ।

सुन तथा जापानी मुद्रा येन जस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्यपनि हमलाको समाचारपछि बढेको छ। तर मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी शेअर मूल्यमा भने कमी देखिएको छ।

जापानको बेञ्चमार्क निक्केई २२५ स्टकको सूचकांक १.३ प्रतिशतले घटेको छ भने हंगकंगमा हांगसेंग ०.८ प्रतिशतले खस्केको छ। इरानको सरकारी टेलिभिजनले भनेको छ देशका एकजना वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा ती हमलाहरू गरिएका हुन्।

गत शुक्रवार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मंगलवार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका हुन्। उनको मृत्युपछि नै अमेरिका र इरानबीचको द्वन्द्व थप खराब अवस्थामा पुग्नसक्ने भनी चिन्ता व्यक्त भएका थिए।

त्यस्तो द्वन्द्व बढेमा संसारको सबैभन्दा व्यस्त मानिने होर्मुजको समुद्री मार्गमा जहाजबाट गरिने परिवहन प्रणालीमा अवरोध पुग्न सक्नेछ। खाडीलाई अरब सागरसँग जोड्ने उक्त जलमार्ग भएर संसारको तेल आपूर्तिको पाँच भाग मध्ये एक भाग ओसारपसार हुने गर्दछ।

खाडी क्षेत्रमा रहेका प्रमुख तेल निर्यातकर्ताहरूकालागि होर्मुजको जलमार्ग निकै महत्त्वपूर्ण रहेको छ। साउदी अरब, इराक, यूएई र कुवेत जस्ता तेल निर्यातकर्ताहरूको अर्थतन्त्र नै तेल र खनिज ग्यास उत्पादनमा निर्भर रहेको छ। आफ्नो तेल निर्यातकालागि इरानपनि यसै जलमार्गमा निर्भर छ।

संसारमा सबैभन्दा धेरै तरलीकृत प्राकृतिक ग्यास, एलएनजी, उत्पादक कतारले लगभग सबैजसो ग्यासको निर्यात यहि जलमार्गबाट गर्दछ। पछिल्लो हमलापछि संयुक्त राज्य अमेरिकाको उड्डयन नियामकले अमेरिकी विमानसेवाहरूलाई इराक, इरान र छिमेकका मुलुकहरूमाथिको आकाशबाट उडान गर्नबाट प्रतिबन्ध लगाएको छ।

त्यस्तो प्रतिबन्धमा ओमानको खाडी र इरान तथा साउदी अरबबीचको समुद्री भेगमाथिको आकाश पनि पर्दछ। अमेरिकाको संघीय उड्डयन प्रशासन, एफएए, ले भनेको छ उक्त क्षेत्रमा चर्कँदो सैनिक गतिविधि, र बढ्दो राजनीतिक तनावका कारण त्यस्तो निर्णय लिनु परेको हो।

यसैबीच सिंगापुर एअरलाइन्सले आफ्ना सबै उडानहरूलाई इरानी हवाइक्षेत्रबाट अन्यत्रै लैजाने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *