खाडी तनावबारे विश्व समुदायले के भने ?
![खाडी तनावबारे विश्व समुदायले के भने ?](https://www.dcnepal.com/wp-content/uploads/2020/01/06931718.jpg)
काठमाडौं । इरानले इराकस्थित दुईवटा अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि बुधबार विश्व तरंगित बनेको छ । मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ भने केही विश्लेषकहरुले तेस्रो विश्व युद्ध हुने जोखिम बढेको प्रतिक्रिया दिएका छन् ।
आफ्ना सैन्य कमाण्डर मारिएको प्रतिशोधमा इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेपछि अमेरिकाले पनि त्यसको जवाफ दिने सम्भावना रहेको र यदि त्यस्तो भएमा मध्यपूर्वमा युद्ध चर्किन सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले विश्लेषण गरेका छन् । मध्यपूर्वमा युद्धको सम्भावना देखिएपछि अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई शान्त रहन आग्रह गरेको छ । भारत, पाकिस्तान, जर्मनी, यूएई, बेलायत, अष्ट्रेलिया, यूरोपेली यूनियनलगायतले अमेरिका र इरानलाई शान्त रहन भनेका छन् ।
भारत र पाकिस्तानले एक एडभाइजरी जारी गर्दै इरान र इराकको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई सचेत पारेका छन् । भारत र पाकिस्तानका विदेश मन्त्रालयहरुले इरान र अमेरिकाबीचको तनाव वार्ताबाटै समाधान गर्न सुझाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् । उता अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले इराकस्थित आफ्ना सुरक्षाकर्मी सुरक्षित रहेको भन्दै आफू शान्तिकै पक्षमा रहेको बताएका छन् ।
उनले कुनै पनि पक्षबाट हतियारको उपयोग हुन नहुने बताएका छन् । इराकमा करिब ३०० जना अष्ट्रेलियाली सेना रहेको बताइएको छ । यस्तै जापानी प्रधानमन्त्री शिन्जो आबेले पनि आफु शान्तिकै पक्षमा रहेको भन्दै दुबै पक्षलाई तनाव बढ्ने गतिविधि नगर्न भनेका छन् । जापानले मध्यपूर्वमा एक पोत पठाउने बताएको छ । आफ्ना पानी जहाजको सुरक्षाका लागि पोत पठाउन लागिएको जापानले जनाएको छ । यस्तै बेलायले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाएको छ । बेलायतले इराकस्थित आफ्ना सेना सुरक्षित रहेको बताएको छ।
जर्मनीले पनि इरानले गरेको आक्रमणको निन्दा गरेको छ । इराकमा जर्नमन सेना पनि रहेका छन् । जमर्नीकी रक्षामन्त्री एन्ग्रेट क्राम्पले इराकस्थित आफ्ना सेना सुरक्षित रहेको बताएकी छन् । उनले इरानबाट हुने यसप्रकारका कुनै पनि गतिविधि स्वीकार्य नभएको भन्दै दुबै पक्षलाई शान्त रहन भनेकी छन् । उनले यसप्रकारको आक्रमण पुनः नगर्न इरानलाई चेतावनीसमेत दिएको बीबीसीले उल्लेख गरेको छ । उता पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले मध्यपूर्वको तनावमा पाकिस्तान तथस्ट रहने बताएका छन् । उनले अलकायदाका विन लादेन र आईएसआईका अबु अल बग्दादी मारिएजस्तो कासिम सुलेमानी मारिएको घटना सामान्य नरहेको प्रतिक्रिया दिएका छन् । उनले मध्य पूर्व निकै संवेदनशील रहेको भन्दै पाकिस्तान युद्ध नचर्कियोस भन्ने पक्षमा रहेको बताएका छन् ।
यसैबीच समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन् । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवारसमेत रहेको बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाकरुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका छन् । उनले राष्ट्रपति ट्रम्पले विपक्षी दल तथा अमेरिकी समूहका अरु सहयात्रीसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताएका छन् । ‘यदि इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रियरुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पथ्र्याे,’ उनले भनेका छन् । (एजेन्सीहरुको सहयोगमा)
Facebook Comment