काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँ नागरिक चाटर्ड विमानमार्फत चीन फर्काइयो
काठमाडौं। यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार डिपोर्ट गरिएको छ। उनीहरुलाई बुधबार साँझ चीनले चाटर्ड गरेका इस्टन एयरको विमानमार्फत चीन पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एक प्रहरी अधिकारीले जानकारी दिए।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकलाई विमानस्थल पुर्याएको बताए।
पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अभद्र व्यवहारमा अधिकतम रु १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ।
त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो। अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो। चिनियाँ नागरिकलाई निःशुल्क प्रवेशाज्ञामा पाँच महिनासम्म म्याद रहन्छ। त्यसपछि उनीहरुले प्रवेशाज्ञा थपेर बस्न सक्छन्।
तर, ती पक्राउ परेका चिनियाँ नागरिक चीनको अनुरोधमा पक्राउ परेको बताइएको थियो। चीन र नेपालबीच सुपुदर्गी सन्धी नभएकाले उनीहरुलाई अपराधीको व्यवहार नगरी नेपाल सरकारले प्रवेशाज्ञ सकिएको बाहाना बनाएर डिपोर्ट गरेको हो।
ती चिनियाँ नागरिकहरुले नेपालमा अश्लिल भिडियो बनाएर चीनमा रहेका व्यक्तिहरुबाट करोडौं रकम अशुलेको चर्चा थियो। तर, नेपालमा भने उनीहरुमाथि दुव्र्यबहारकोमात्र आरोप लगाइयो। र भिजा नभएको भन्दै डिपोर्ट गरियो।
Facebook Comment