अमेरिका इरानबीच तनाब बढिरहेका बेला खाडी क्षेत्रमा भारतीय युद्धपोत तैनाथ
एजेन्सी । इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा पुगेका बेला भारतले सो क्षेत्रमा आफ्नो युद्धपोत तैनाथ गरेको छ ।
कुनैपनि परिस्थितिको सामना गर्नका लागि भारतीय नौसेनाले खाडी क्षेत्रमा आफ्नो युद्धपोत तैनाथ गरेको जनाएको छ ।
यो युद्धपोत अमेरिका-इरानसँग लड्न नभई आफ्नो व्यापारिक मार्गको कारोबार सुरक्षित बनाउन भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
पछिल्लो समय इरानका सैन्य कमान्डर कासिम सुलेमनी अमेरिकी एयर स्ट्राइकमा मारिएपछि अमेरिका र इरानबीच विवाद चरम बिन्दूमा पुगेको छ ।
बुधबार इरानले इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेको थियो । इरानले यसलाई आफ्नो अमेरिका माथिको कारवाही भनेको छ।
उक्त हवाई आक्रमणमा अमेरिकी सेना सहित ८० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर अमेरिकाले भने यस हमलामा परी कसैको ज्यान नगएको दाबी गरेको छ ।
बुधबार इरानले इराकमा रहेका आफ्ना सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेर आवश्यक परे मध्यपूर्व क्षेत्रमा शक्ति थप्ने घोषणा गरेका छन् ।
ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानले आफ्नो रवैया परिवर्तन नगरेसम्म अमेरिकाको प्रतिबन्ध जारी राख्ने र अमेरिकी नागरिक वा सेनामाथि कुनै आक्रमण भए थप नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका छन्।
Facebook Comment