ओमनमा नयाँ राजाको घोषणा, यी हुन् नयाँ सुल्तान
![ओमनमा नयाँ राजाको घोषणा, यी हुन् नयाँ सुल्तान](https://www.dcnepal.com/wp-content/uploads/2020/01/Sultan-Haitham-Bin-Tariq-Al-Said-successor-of-Sultan-Qaboos-Bin-Said._16f9368b74b_original-ratio.jpg)
काठमाडौं। ओमनका सुल्तान (राजा) काबूस बिन सइदको निधनपछि नयाँ राजाको घोषणा भएको छ । सुल्तान काबूस अविवाहित भएकोले उनका उत्तराधिकारी कोही पनि थिएनन् । त्यसैले ओमनमा अब नयाँ सुल्तान को हुने भन्ने समस्या भएको थियो । ओमनको शाही परिवार परिषदले हैतम बिन तारिक बिन तैमुर अल सइद नयाँ सुल्तान हुने फैसला गरेको हो ।
सुल्तान हैतम बिन तरिक १९५४ मा जन्मिएका हुन् । यसअघि उनी ओमनका सम्पदा तथा संस्कृति मन्त्री थिए । नयाँ सुल्तान हैतम बिन तारिक दिवंगत सुल्तान काबूसका काकाका छोरा हुन् । नयाँ सुल्तान हैतमले दिवंगत सुल्तान काबूसको विशेष दूतको रुपमा विभिन्न अवसरमा काम गरेका थिए । उनले ओमनको विदेश मन्त्रालयमा विभिन्न पदमा रही सेवा गरिसकेका छन् ।
नयाँ सुल्तान हैतमले ओमनको विदेश मन्त्रालयमा अण्डरसेक्रेटरीको रुपमा १९८६ देखि १९९४ सम्म काम गरिसकेका छन् । त्यसपछि उनी सोही मन्त्रालयमा सेक्रेटरी जनरल पदमा नियुत्तः भए । योपदमा रहेर उनले १९९४ देखि २००२ सम्म काम गरे । १९७९ मा बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैदेशिक सेवा विषयका ग्रयाजुएट सुल्तान हैतम ओमन फुटबल संघका प्रथम अध्यक्ष पनि थिए । उनलाई खेलप्रति लगाव भएका व्यक्तिको रुपमा पनि चिनिन्छ ।
ओमनले भविष्यमा आफ्नो विकासको लागि बनाएको महत्वाकांक्षी योजना ‘ओमन २०४०’का अध्यक्ष पनि सुल्तान हैतम नै हुन् । उनी ओमान अपांग संघका अध्यक्ष तथा ओमान जापानी मैत्री संघका मानार्थ अध्यक्ष पनि हुन् ।
Facebook Comment