नेकपालाई उपसभामुख तुम्बाहाम्फेको प्रश्नः मैले के गल्ती गरेकी छु र राजीनामा दिउँ?

डिसी नेपाल
२६ पुष २०७६ २०:१३

काठमाडौं। सभामुख चयनको सकसमा फसेको सत्तारुढ दल नेकपामा यो विषयले झन तनाव हुने देखिएको छ। शनिबारको पार्टी सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेपछि उनी पार्टीसँग ‘क्रुद्ध’ बनेकी छन्।

पार्टीले राजीनामा गराउने निर्णय गरेपछि डिसी नेपालसँग संक्षिप्त प्रक्रिया दिँदै उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘मैले के गल्ती गरेकी छु र राजीनामा दिने?’ उनले आफु अहिले पार्टीको सदस्य नरहेको भन्दै राजीनामाका लागि पार्टीले बाध्य पार्न नसक्नेसमेत बताइन्।

उनले डिसी नेपालसँग भनिन्, ‘पार्टीले राजीनामा दिन निर्देशन दिने निर्णय गरेको सुनेकी छु। भोलीसम्म यो विषयमा जानकारी आउला। पार्टीले भन्दैमा राजीनामा दिने पक्षमा म छैन। के के कारणले मैले राजीनामा दिने? पहिला मलाई चित्तबुझ्दो जवाफ चाहिन्छ।’ उनले अगाडि भनिन्, ‘मेरो कुनै गलत आचारण गरेकी छु र? मैले राजीनामा दिनुपर्ने। अर्काले गल्ती गरेको सजाय मैले पाउने?’ स्मरण रहोस तत्कालीन सभामुख कृष्णबहादुर महराले बलतकार आरोप लागेपछि गएको असोज १३ गते पदबाट राजीनामा दिएका थिए। महराले गरेको गल्तीको सजाय आफुले किन पाउने भन्ने उपसभामुख तुम्बाहाम्फेको प्रश्न छ।

उपसभामुख तुम्बाहाम्फेले आइतबारका लागि बोलाइएको संसद बैठक सुचारु गर्ने समेत बताइन्। उनले भनिन्, ‘म पदमा रहेकाले मैले संविधानले दिएको अधिकार र कर्तव्य पूरा गर्नुपर्छ। भोली संसद चल्छ।’ उनले राजीनामा दिनु अगाडि की पार्टीले सभामुखको उम्मेदवार तय गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘मैले राजीनामा गर्ने हो भने पहिला सभामुखको उम्मेदवार तय हुनु पर्योनी। यत्तिकै मैले संसदलाई प्रमुखबिहीन बनाउन त मिल्दैन।’

यो सबै चक्कर संविधानको एक व्यवस्थाका कारण भएको हो। संविधानले एउटै पार्टी र एउटै लिंगबाट सभामुख र उपसभामुख हुन बन्देज लगाएका कारण सत्तारुढ दल नेकपा उपसभामुख छाडेर सभामुख लिन चाहन्छ। संसदमा हुने सभामुखको निर्वाचनमा जित्ने पनि नेकपाले निश्चित जस्तै छ। तर, उपसभामुख तुम्बाहाम्फेको राजीनामा नभएसँग नेकपाले सभामुखमा उम्मेदवारी पनि दिन पाउँदैन। त्यसैले सभामुखको दावी गरिरहेकी उनले यही संवैधनिक व्यवस्थाको फाइदा लिन लागेकी हुन्।

नेकपामा तुम्बाहाम्फे, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र अग्नि सापकोटा सभामुखका दावेदार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *