पार्टीको निर्णयलाई उपसभामुखको चुनौती, सभामुख चयन जटिल बन्दै

डिसी नेपाल
२७ पुष २०७६ ७:१६

काठमाडौं। सत्तारुढ दल नेकपाले सभामुख आफ्नो भागमा पार्न उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गर्यो। उपसभामुखले राजीनामा नदिएसम्म आफूले सभामुख नपाउने भएपछि शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन लगाउने निर्णय गरेको हो।

तर उपसभामुख तुम्बाहाम्फेले भने आफूले राजीनामा नदिने चेतावनी दिएकी छन्। उनले आफूले राजीनामा दिनुपर्ने गरी कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने बरु आज बस्ने संसद बैठकको अध्यक्षता गर्ने चेतावनी दिएकी छन्। योसँगै नेकपाभित्र सभामुख चयन प्रक्रिया पेचिलो बन्दै गएको छ।

नेकपाले उपसभामुखलाई राजीनामा गराउने लगाउने निर्णय गरेपनि सभामुखको उम्मेदवार टुंगो लगाएको छैन। सभामुख चयनका विषयमा शुक्रबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरे पनि निष्कर्ष निस्कन सकेन।

नेकपाभित्र लामो समयदेखि सभामुख पदका लागि त्रिपक्षीय शक्ति संघर्ष हुँदै आएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली खुलेरै सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष दाहाल अग्निप्रसाद सापकोटालाई बनाउने पक्षमा छन्। राष्ट्रपति विद्या भण्डारी उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउने पक्षमा रहेको स्रोतहरुको भनाइ छ।

यदि त्यस्तो निर्णय गरिएको हो भने पनि मलाइ चित्तबुझ्दो र न्यायसंगत हुने गरी कारणसहित राजीनामा माग्नुपर्छ,’ अन्यथा आइतबार बस्ने संसद बैठक संचालन गर्छु : उपसभामुख

ओलीलाई प्रचण्डले सभामुखसहितका विषयमा प्याकेजमा सहमति खोज्न दबाब दिनुको मुख्य उद्देश्य पनि गुटगत स्वार्थ नै रहेको बताइएको छ। प्रचण्डलाई पूर्व–माओवादीभित्रबाट सभामुख पद नछाड्न दबाब बढेको छ । ओली भने पार्टी एकता भइसकेको अवस्थामा अब एमाले र माओवादी गुटका हिसाबमा पार्टी्भित्र भागबण्डाको परम्परा बसाल्न नहुने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन तथा नयाँ कानुनहरू धमाधम बनाउनुपर्ने अवस्थामा अनुभवी व्यक्ति सभामुख पदमा हुँदा सरकारलाई सहज हुने तर्क गर्दै नेम्वाङलाई उम्मेदवारका रूपमा अघि सारेका छन्। दाहाल भने पूर्वमाओवादी पक्षले पाएको पद खोस्न नमिल्ने अडानमा छन्।

तर उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिने बरु संसद बैठक संचालन गर्ने चेतावनी दिएपछि सभामुख चनय प्रक्रिया झन जटिल अवस्थामा पुगेको हो। उपसभामुख तुम्बाहाम्फेले डिसी नेपालसँगको कुराकानीमा आफूले राजीनामा दिने गरी कुनै पनि गल्ती नगरेको भन्दै राजीनामा नदिने बताएकी छन्।

‘पार्टीले गरेको निर्णय औपचारिक रुपमा मलाइ जानकारी गराइएको छैन। यदि त्यस्तो निर्णय गरिएको हो भने पनि मलाइ चित्तबुझ्दो र न्यायसंगत हुने गरी कारणसहित राजीनामा माग्नुपर्छ,’ उनले भनिन्, ‘अन्यथा आइतबार बस्ने संसद बैठक संचालन गर्छु।’

यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए। उनको राजीनामाको साढे तीन महिना बित्नै लागेको छ । संसद अधिवेशन सुरू भएको पनि तीन साता भएको छ ।

जानकारहरुका अनुसार उपसभामुखले राजीनामा गरे संविधानको धारा ९१ को उपधारा (१) आकर्षित हुन्छ । उक्त धारामा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधिसभाका सदस्यहरुले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचन गर्नेछन् ।’ संविधानको यो प्रावधान ख्याल राखेरै उपभामुख तुम्बाहाङ्फेको राजीनामा रोकिएको हो ।

सभामुख र उपसभामुख दुवै पद रिक्त रहेको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । ज्येष्ठ सदस्यको जिम्मेवारी सभामुख निर्वा्चित गराउनु हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *